सिराज खान
नेपालगन्ज, माघ २३ गते । बाँकेका पाँच हजारभन्दा बढी बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । जिल्लाका पाँच हजार १४ जना बालिका र किशोरीलाई पहिलो दिन एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका चार वटा पालिकामा सुरु गरिएको पहिलो चरणको खोप कार्यक्रम अनुसार नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा पहिलो दिन पाँच हजार १४ जना बालिका र किशोरीलाई खोप लगाइएको छ ।
सो क्रममा नेपालगन्ज उपमहानगरपालिकामा दुई हजार ७७ जना, कोहलपुरमा एक हजार ५७४ जना, खजुरामा ९३४ जना र जानकीमा ४२९ जना बालिकालाई एचपिभी खोप लगाइएको खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले जिल्लाका चारवटा पालिकामा पहिलो चरणमा २४ हजार ५८९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा पहिलो दिन पाँच हजार १४ जनालाई लगाइएकाले अझै १९ हजार ५७५ बालिकालाई खोप लगाउन बाँकी रहेको बताउनुभयो ।
यसअघि जिल्लाका करिब ३७ हजार बालिका र किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्यका साथ खोप अभियान अभियान मङ्गलवारबाट सुरु गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगन्ज १ धम्बोझी माविमा अहिर टोलकी १० वर्षीया सिबाङ्गि सुनारलाई खोप कार्ड हस्तान्तरण गरी खोप अभियानको शुभारम्भ गर्नुभएको थियो ।
पmागुन ६ गतेसम्म सञ्चालन गरिने सो अभियानअन्तर्गत जिल्लामा कक्षा ६ देखि १० सम्मका बालिका र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका किशोरी गरेर ३६ हजार ९५० बालिका तथा किशोरीहरुलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
पहिलो चरणअन्तर्गत मङ्गलबारदेखि फागुन १ गतेसम्म नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा खोप अभियान सञ्चालन गरिने तथा दोस्रो चरणमा माघ ३० गतेदेखि फागुन ६ गतेसम्म राप्ती सोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा खोप दिने कार्यक्रम रहेको छ ।
खोप अभियान सञ्चालनका लागि जिल्लाभर ५२४ वटा खोप केन्द्र स्थापना गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो । उहाँले ती मध्ये २७६ वटा विद्यालयमा, ८१ वटा विभिन्न स्वास्थ्य संस्थामा र अन्य १२६ वटा खोप केन्द्र कायम गरिएको जनाउनुभयो ।
प्रमुख शाहीका अनुसार खोप अभियानलाई सफल पार्न जिल्लामा ५२४ जना स्वास्थ्यकर्मी र एक हजार ४८ जना स्वयंसेवक खटाइएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार सो अभियानअन्तर्गत नेपालगन्ज उपमहानगरमा नौ हजार ३१९ जना, कोहलपुर नगरपालिकामा सात हजार ४४८ जना, डुडुवा गाउँपालिकामा दुई हजार ५८४ जना, राप्तीसोनारीमा तीन हजार १८३ जना, बैजनाथ गाउँपालिकामा चार हजार ११४, खजुरा गाउँपालिकामा पाँच हजार ८७२ जना, जानकी गाउँपालिकामा एक हजार ९५० जना र नरैनापुर गाउँपालिकामा दुई हजार ४८० जना बालिका र किशोरीलाई एचपिभी खोप लगाइने छ ।