• २२ माघ २०८१, मङ्गलबार

‘नागरिक पेन्सन योजना’ प्रति आकर्षण

गोरखापत्र संस्थान र नागरिक लगानी कोषबिच सहकार्य

blog

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीलाई गोरखापत्रको पहिलो अङ्कको प्रतिकृति प्रदान गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, माघ २२ गते । गोरखापत्र संस्थान र नागरिक लगानी कोषबिच आपसी सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीबिच सो समझदारीपत्रमा मङ्गलबार हस्ताक्षर भएको हो । गोरखापत्र र कोषबिच वर्षौंदेखिको व्यावसायिक सम्बन्ध रहँदै आएको छ । 

समझदारीपत्रमा हस्ताक्षरपछि संस्थानका महाप्रबन्धक ऐरीले द्विपक्षीय समझदारीबाट दुई संस्थाबिचको सम्बन्ध अझ सबल हुने र व्यावसायिक हित प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्रले व्यावसायिक सम्बन्ध विस्तार गर्ने योजनाअन्तर्गत विभिन्न निकाय र संस्थासँग सहकार्य गर्दै आएको बताउनु हुँदै महाप्रबन्धक ऐरीले गोरखापत्र र कोषबिचको सम्बन्धलाई अझ फराकिलो बनाउन चाहेको उल्लेख गर्नुभयो । 

कोषका कार्यकारी निर्देशक कार्कीले कोष र गोरखापत्रसँगको सम्बन्ध विशिष्ट खालको रहेको चर्चा गर्दै आगामी दिन अझ मिलेर काम गर्न सकिन्छ भन्नुभयो । कोषले अघि बढाएका विभिन्न योजनामध्ये ‘नागरिक पेन्सन योजना’ प्रति नागरिकको आकर्षण बढेको बताउनु भयो । 

कार्यकारी निर्देशक कार्कीले भन्नुभयो, ‘‘नागरिक लगानी कोषले विभिन्न सात वटा योजना सञ्चालनमा ल्याएको छ, ती योजनामा विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीको सहभागिता छ । सातमध्ये एउटा योजना चाहिँ कहीँ पनि जागिरमा नरहेर स्वरोजगारीमा आफ्नै व्यवसाय सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा रहेका दिदीबहिनी र दाजुभाइलाई लक्षित गरेर ‘नागरिक पेन्सन योजना’ कार्यान्वयनमा ल्याएको छ । यसको उद्देश्य उमेरमा कमाउने, केही निक्षेप गर्ने र बुढ्यौलीमा आनन्द जीवन जिउन पेन्सन पाउने गरी योजना कार्यान्वयन ल्याएको छ, यसप्रति नागरिकको आकर्षण पनि बढ्दो छ ।’’

यसमा नागरिकले मासिक न्यूनतम पाँच सय रुपियाँदेखि आफ्नो क्षमता अनुसार अधिकतम रकम जम्मा गर्न सक्ने छन् । कार्यकारी निर्देशक कार्कीले भन्नुभयो, ‘‘बचतकर्ताले लगातार १५ वर्ष रकम जम्मा गरेपछि र उमेर ६० वर्ष पूरा भएपछि उनीहरूलाई पेन्सन पट्टा नै दिएर बाँचुञ्जेलसम्म मासिक पेन्सन रकम उपलब्ध गराउने छौं । भविष्यका लागि यसले मानिसलाई यसले ठुलो सहयोग पुग्छ ।’’ 

कार्यक्रममा महाप्रबन्धक ऐरीले गोरखापत्रको पहिलो अङ्कको प्रतिकृति र ऐतिहासिक तस्बिरहरूको सङ्ग्रह ‘परिवर्तित नेपाल’ कार्यकारी निर्देशक कार्कीलाई हस्तान्तरण गर्नुभयो ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र नागरिक लागनी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की समझदारीपत्र आदान प्रदान गर्नुहुँदै ।