• २२ माघ २०८१, मङ्गलबार

‘फोर नेसन्स कप’ को तयारी

blog

महिला फुटबल खेलाडी । फाइल तस्बिर

काठमाडौँ, माघ २२ गते । नेपालले फागुन ४ देखि १५ गतेसम्म घरेलु मैदान दशरथ रङ्गशालामा हुने ‘फोर नेसन्स कप’ को तयारी सुरु गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राजेन्द्र तामाङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएर महिला फुटबल टोलीको तयारी सुरु गरेको हो । प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानले प्रतिस्पर्धा गर्दैछन् । नेपालबाहेक अन्य टोलीले यसअघिनै बन्द प्रशिक्षण सुरु गरिसकेका छन् । 

नेपाली टोलीका प्रशिक्षक तामाङले सोमबार मात्र ३५ खेलाडीलाई समेटेर बन्द प्रशिक्षण सुुरु गर्नुभएको छ । टोलीमा हालैसम्पन्न महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरिएको छ ।

केही खेलाडी वैदेशिक लिगमा खेलिरहेका पनि छन् । टोलीमा लिग च्याम्पियन एपिएफ क्लबका खेलाडीको बर्चस्व रहेको छ । एपिएफका मात्र १५ खेलाडी प्रशिक्षणमा परेका छन् । यस्तै लिग उपविजेता नेपाल पुलिस क्लबबाट सात र अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट पाँच खेलाडी समावेश छन् ।

एन्फाले एक साताभित्र प्रशिक्षणमा रहने खेलाडीको सङ्ख्या घटाएर अन्तिममा प्रतियोगिता खेल्ने टोली घोषणा गर्नेछ । एन्फाले टोलीको सहायक प्रशिक्षकमा श्याम मानन्धर, भगवती थापा र गोलकिपिङ प्रशिक्षकमा सुरज मोक्तानलाई जिम्मेवारी दिएको छ । 

‘फोर नेसन्स कप’ मा नेपालको पहिलो प्रतिद्वन्द्वी किर्गिस्तान परेको छ । प्रतियोगिताको तालिका अनुसार नेपालले पहिलो खेल फागुन ५ गते किर्गिस्तानसँग खेल्नेछ । नेपालको  दोस्रो खेल फागुन ८ गते लेबनान र तेस्रो खेल ११ गते म्यानमारसँग परेको छ ।

लिग चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ । एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ को छनोटको तयारीको रूपमा लिएको छ । 

नेपाली महिला टोलीले साफ महिला च्याम्पियनसिप सकिएको साँढे तीन महिनापछि घरेलु मैदानमा ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । गत कात्तिकमा भएकको साफको फाइनलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भएको थियो ।