• २२ माघ २०८१, मङ्गलबार

त्रिकोणात्मक टी–२० सिरिज

नेपालको हारको शृङ्खला रोकिएन

blog

नेपाललाई हराएपछि थाइल्यान्डका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ २२ गते । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालको हारको शृङ्खला रोकिएको छैन । 

त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग पाँच रनले पराजित भयो । लगातार चौथो हारसँगै सिरिजको फाइनलमा पुग्ने नेपालको सम्भावना सकिएको छ ।

लगातार चौथो जितसँगै थाइल्यान्ड उपाधि नजिक पुगेको छ । जितका लागि थाइल्यान्डले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा आठ विकेटको क्षतिमा एक सय एक रनमा समेटिएको थियो ।

नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाउनुभयो । यस्तै कविता जोशीले २४, रोमा थापाले अविजित १९ र पूजा महतोले १८ रन बनाउनुभयो । बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङलले चार ओभरमा एक मेडनसिहित १० रन खर्चिँएर चार विकेट लिनुभयो । फान्निता मायाले दुई विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो । थाइल्यान्डका लागि चनिदा सुथिराङले अविजित सर्वाधिक २७ रन बनाउनुभयो ।

यस्तै थिपाथ्चा पूथावोङले अविजित २५  र नानपत कोन्चारोन्काइले १९ रन बनाउनुभयो । बलिङमा नेपालकी मनीषा उपाध्यायले तीन विकेट लिनुभयो । पूजा महतो र रचना चौधरीले एक एक विकेट हात पार्नुभयो । 

लगातार चौथो जितसँगै थाइल्यान्ड आठ अङ्कसहित शीर्षस्थानमा रहेको छ । सिरिजमा अब थाइल्यान्डले नेपाल र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । नेपालले पनि थाइल्यान्ड र नेदरल्यान्ड्सँग एक एक खल खेल्न बाँकी छ ।

समान खेलबाट ६ अङ्क बनाएको नेलरल्यान्ड्स दोस्रो स्थानमा छ । नेपालले अङ्कको खाता खोल्न सकेको छैन । नेदरल्यान्ड्सको पनि शीर्ष स्थानमा रहेर उपाधि जित्ने सम्भावना बाँकी छ । नेपालले बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।