सन्तोष दहित
दाङ (दङ्गीशरण), माघ २२ गते । दाङको दङ्गीशरणमा दुई दिने रैथाने खाना महोत्सव हुने भएको छ । मटावाँ, बरघर, भलमन्सा महासङ्घको आयोजनामा दङ्गीशरण गाउँपालिका ३ स्थित चखौरामा रहेको थारू सांस्कृतिक सङ्ग्रहालयमा माघ २६ र २७ गते दुई दिने अन्तर प्रदेशस्तरीय सांस्कृतिक तथा रैथाने खाना महोत्सव हुन लागेको हो ।
थारू भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले दुई दिने महोत्सव आयोजना गर्न लागिएको मटावाँ, बरघर, भलमन्सा महासङ्घका केन्द्रीय अध्यक्ष एवं लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो । ‘हाम्रो संस्कृति, हाम्रो सान, संस्कृति संरक्षणले बढ्छ देशको मान’ भन्ने मूल नारासाथ आयोजना हुन लागेको महोत्सवको उदघाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुने उहाँले बताउनुभयो ।
महोत्सवमा दाङ र नवलपरासीको थारू समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । यस्तै मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो ।
यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम् थारू लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ । थारू परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरूको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिने उहाँले जानकारी दिनुभयो ।
सोहीअनुसार थारू भाषाको विभिन्न पुस्तक, पत्रपत्रिकाहरू, थारू हस्तकला लगायत बिक्री तथा प्रदर्शनीका लागि राखिने अध्यक्ष चौधरीले बताउनुभयो । महोत्सवमा उत्कृष्ट सांस्कृतिक प्रदर्शन गर्ने पहिलो, दोस्रो र तेस्रोलाई आकर्षक पुरस्कारका साथै सहभागी सबै सांस्कृतिक टोलीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारूहरू मौलिक भेषभुषासहितको उपस्थिति रहने महासङ्घका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रूपन्देही, नवलपरासी, कपिलबस्तु जिल्लाको एक हजार भन्दा बढी मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वाहरूको उपस्थिति रहनेछ । कार्यक्रममा बरघर ऐन लगायत विषयमा छलफल र महासङ्घको नयाँ नेतृत्व समेत चयन गर्ने उहाँले जानकारी दिनुभयो ।