चित्र मिजार
सिन्धुपाल्चोक, माघ २२ गते । भोटेकोशी गाउँपालिका–२ लिपिङ माथि रहेको गौरीशङ्कर संरक्षण क्षेत्रअन्तर्गत जङ्गलको डढेलो पाँच दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । शुक्रबारदेखि लागेको उक्त डढेलोले राङबुसा बस्तीका २० घरपरिवार उच्च जोखिममा परेका छन् ।
राङबुसामा थामी र तामाङ समुदायको बसोवास रहेको छ । बस्तीको नजिकै डढेलो पुग्न थालेको छ । सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिहरूले डढेलो नियन्त्रणका काम गरिरहेका छन् । आगो निभाउन हेलिकाेप्टरबाट पानी लगेर खन्याइएको थियो । तर पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलो गाउँ पस्न नदिनका लागि अग्निरेखा कोरिएको छ ।
जङ्गलको मध्य क्षेत्रमा डढेलोको मुस्लो छ । आगो निभाउन चीनको न्यालम काउन्टीसँग सहयोग मागिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । डढेलो नियन्त्रण गर्न सिम्रिक एयरको हेलिकाेप्टरबाट भोटेकोशीको पानी ओसारेर हालिएको थियो । आठ सय लिटरको दरले ५४ पटक हेलिकाेप्टरले डढेलोमा पानी खन्याएको थियो । हेलिकाेप्टर प्रयोग गरेर पानी खन्याउदाँ दैनिक २० लाख बढी खर्च निस्किएको जनाएको छ ।
उक्त खर्च लिपिङ खोलामा निर्माणाधीन २६ मेगावाटको लिपिङ खोला जलविद्युत् आयोजनाले व्यहोर्ने भएको छ । सोही आयोजनाको टनेल साइडमा शुक्रबार वेल्डिङ गर्ने क्रममा करेन्ट सर्ट भएर आगो सल्किएर डढेलो लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत तथा डिएसपी उमाशङ्कर यादवले बताउनुभयो । बस्तीमा आगो पुग्न नदिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, जनप्रतिनिधि खटिरहेका छन् । हेलिकाेप्टरको खर्च सोही आयोजनाले व्यर्होने भएको छ ।