कपिल ज्ञवाली
सिद्धार्थनगर, माघ २२ गते । बुटवल १२ मा रहेको मुक्तिनाथ धाममा मंगल भवनको शिलान्यास गरिएको छ । भवनको उपप्रधा एवम् अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्नुभयो ।
मङ्गलबारबाट मुक्तिनाथ धाममा सुरुआत हुने श्रीमद्भागवत मुक्तिनाथ महायज्ञको पूर्र्वसन्ध्यामा एक कार्यक्रमबिच अर्थमन्त्री पौडेलले सोमबार भवन शिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास कार्यक्रम अगाडि उपप्रधानमन्त्री पौडेलले मुक्तिनाध धाममा संरक्षक स्वामि लोकानन्दका सानिध्यतामा रहेर पूजाअर्चना समेत गर्नुभयो ।
मंगल भवनको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री पौडेलले निर्धारित समयमा भवन बन्ने र पैसाको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । धार्मिक पर्यटनका लागि बुटवलको धाम दिब्य रहेको उहाँको भनाइ थियो ।
धर्म संस्कृति र परम्पराको रक्षार्थ, जन र जगतको कल्याणको कामनार्थ अठारौं संस्करणको महायज्ञ आयोजना गरिएको संरक्षक लोकानन्द स्वामीले बताउनुभयो । उहाँले विगत १८ वर्ष अगाडिबाट प्रतिकुल परिस्थितिहरुमा पनि नियमित महायज्ञहरु गर्दै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, पूर्व उपप्रमुख गोमा देवी आचार्य, वडा अध्यक्षहरू डिल्लीप्रसाद शर्मा आचार्य, नरिश्वर शर्मा पौडेल, धामका अध्यक्ष बाबुराम महत, तथा बिभिन्न धर्म गुरुहरुको समेत आआफ्नो भनाइ राख्नुभयो ।
धाममा आजदेखि महायज्ञ समेत सुरू हुँदै छ र यसका लागि सबै तयारी सकिएको मूल समारोह समितिका संयोजक डिल्लीप्रसाद शर्मा आचार्यले बताउनभयो ।
चार वेद अठारह पुराणको विराट यज्ञबाट यज्ञको गतिलाई गतिमान गराउँदै अहिले चार वेद अठारह पुराण, श्रीमद्रामायण, श्रीमद्महाभारत, हनुमान चालिसा गरी पच्चीस दिव्यधर्मशास्त्रहरुको महाअनुष्ठान सम्पन्न गर्ने लक्ष्य लिइएको धामले जनाएको छ ।