दिवाकर पोख्रेल
देउखुरी, माघ २१ गते । लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवपूर्वक मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाको संयुक्त आयोजनामा देउखुरीस्थित प्रदेश सभा परिसरमा झाँकी प्रदर्शन, मन्त्रालयका स्टलहरू तथा सरकारी उपलब्धिहरूको प्रदर्शनी गरिएको छ ।
स्थापना दिवसको अवसरमा प्रमुख अतिथि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सङ्घीय शासन व्यवस्थाले जनतालाई बलियो बनाउने बताउँदै जनप्रतिनिधिहरू सेवक भएको स्मरण गराउनुभयो । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले सङ्घीयताको सफल अभ्यास गर्दैआएको उल्लेख गर्दै सुशासन र स्थायित्व प्राप्त सरकार मात्र प्रभावकारी हुने बताउनुभयो । उहाँले सात वर्षमा ११० कानुन निर्माण भइसकेको र अझै कानुनी संरचना सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, जोखबहादुर महरा र कुलप्रसाद केसीले प्रदेशलाई अधिकारसम्पन्न बनाउन सङ्घीय सरकारको ध्यान आवश्यक रहेको बताउनुभयो । सभामुख तुलाराम घर्तीमगरले प्रदेश तह सङ्घीयताको मुख्य अभ्यासस्थल भएकाले यसको स्थायित्व प्राथमिकता पाउनुपर्ने बताउनुभयो । कार्यक्रममा ११ वटा झाँकी प्रदर्शन गरिएकामध्ये शितगङ्गा नगरपालिकाको सोरठी भैलो झाँकी पहिलो, गढवाको पञ्चेबाजा दोस्रो, राप्ती गाउँपालिकाको झुम्रा नाच र राजपुर गाउँपालिकाको काहरवा नाच तेस्रो भएका छन्।
विभिन्न मन्त्रालयहरूले आफ्ना सेवा तथा कार्यक्रमको प्रदर्शनी गरेका थिए। कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षता तथा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।