काठमाडौँ, माघ २१ गते । थाइल्यान्डले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हरायो । सिरिजमा थाइल्यान्डको यो लगातार तेस्रो जित हो ।
जितसँगै ६ अङ्क बनाएको थाइल्यान्ड शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको चार खेलबाट चार अङ्क छ । तीन खेल खेलेको नेपालले अङ्कको खाता खोल्न सकेको छैन । नेपालले मङ्गलबार थाइल्यान्डसँग खेल्नेछ ।
जितका लागि ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५.५ ओभरमा सबै विकेटको क्षतिमा ६९ रनमा समेटिएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडेले २५ रन बनाउनुभयो । आइरिस ज्वीलिङले १३ र क्यारोलिन डे लाङ्गेले १० रन बनाउनुभयो ।
बलिङमा थाइल्यान्डका लागि थिपाच्चा पुथावाङ र ओनिचा कामचोम्पुले तीन तीन विकेट लिनुभयो । यस्तै चनिदा सुथिरुङले दुई तथा नटाया बुचथमले एक विकेट झार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित १९.५ ओभरमा सबै विकेटको क्षतिमा ८६ रन बनाएको थियो । थाइल्यान्डका लागि चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाउनुभयो ।
यस्तै फनिता मायाले १२ रन जोड्नुभयो । बलिङमा नेदरल्यान्ड्सकी आइरिस ज्वीलिङ, इभा लिन्च, सिल्भर सिजर्सले दुई दुई तथा इसाबेल वोनिङले एक विकेट लिनुभयो।