• २१ माघ २०८१, सोमबार

ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन शिलान्यास

blog

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल 

भैरहवा, माघ २१ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकप्रति सरकार सचेत र संवेदनशील रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकहरुको सम्मान, उहाँहरुको सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने भन्दै उहाँले वर्तमान सरकार तीनैवटा कुरामा सचेत र संवेदनशील रहेको बताउनुभयो ।

रुपन्देहीको तिलोत्तमामा बन्न लागेको ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । २०५२ सालमै तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागकिहरुको सम्मान स्वरुप सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको स्मरण गर्नुभयो ।

तत्कालीन अवस्थामा एकसय रुपियाँबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता आफू अथएमन्त्री हुँदा चार हजार रुपियाँ पुर्याउने अवसर पाएको भन्दै उहाँले यसको श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने बताउनुभयो ।

“बजेट निर्माणका बेलामा प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाउनु भनेर निर्देशन दिनुभयो, उहाँको निर्देशन बमोजिम नै सामाजिक सुरक्षा भत्ता वृद्धि भएको हो” अर्थमन्त्री पौडेलले भन्नुभयो, “यसका लागि पनि ज्येष्ठ नागरिकले प्रधानमन्त्री ओलीलाई सम्झिनु पर्छ ।”

ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुको ठूलो अर्थ र महत्व रहेको भन्दै उहाँले यसले ज्येष्ठ नागरिकप्रति सरकार जिम्मेवार बन्नुपर्छ भन्ने कुरालाई आत्मसात गरेको बताउनुभयो । “सरकारले ज्येष्ठ नागरिकप्रति गरेको काम प्रयाप्त छैन, अझै धेरै गर्नु पर्नेछ, यसका लागि सरकार जिम्मेवारीका साथ अगाडि बढेको छ” पौडेलले भन्नुभयो ।

रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकका ईच्छा र आकांक्षालाई पूरा गर्दै अघि बढिरहेको भन्दै उहाँले अब बन्न लागेको अत्याधुनिक भवनका लागि सरकारको तर्फबाट यथोचित सम्बोधन हुने पनि आश्वासन दिलाउनुभयो । “हामी राजनीति र समाज सेवामा लागेकाहरुका निम्ति यो महत्वपूर्ण शिक्षा हो, ज्येष्ठ नागरिक मिलन केन्द्र नमुना बनोस्”–अर्थमन्त्री पौडेलले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले राज्यले गर्नुपर्ने काम समुदायस्तरबाट भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले ज्येष्ठ नागरिक मिलन केन्द्रका लागि नगरपालिकाले पनि सहयोग र सहकार्य गर्ने बताउनुभयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा ४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा दिवा सेवा प्रदान गर्नेगरी पाँचसय जना ज्येष्ठ नागरिकलाई सेवा दिने लक्ष्यसहित अत्याधुनिक भवन बन्न लागेको हो । यो भवन पाँच तलाको हुने केन्द्रका अध्यक्ष ऋषि भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष यदुनाथ पाण्डे, सचिव दया भण्डारीलगायतले ज्येष्ठ नागरिक मिलन केन्द्रले गरिरहेको सेवाका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । त्यस अवसरमा ज्येष्ठ नागरिकद्वय रोमनाथ कंडेल र नर्मदा अर्यालले यहाँको वातावरणमा आफूहरु रोगमुक्त भएको र खुसीसाथ जीवन बिताउन पाएको अनुभव सुनाउनुभएको थियो ।