विजयकुमार साह
ढल्केबर, माघ २१ गते । धनुषाधाम नगरपालिका –१ मा रहेको एक सःमिल मिलबाट ठुलो मात्रामा अवैध सालको काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय धनुषाका कर्मचारीले चिरान मिलमा छापा मारेर काठ बरामद गरेका हुन् ।
डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले प्रमोद ठाकुरको स्वामित्वमा रहेको सःमिलबाट मिलबाट १३९ क्यूफिट साल प्रजातिको काठ र एक थान काठ काट्ने कटर मेसिन बरामद गरिएको बताउनुभयो । अवैध रूपमा लुकाएर राखिएको काठको सूचना पाएपछि वन कार्यालयले स्थानीय प्रहरीसँग समन्वय गरी छापा मारेको उहाँले जानकारी दिनुभयो । बरामद काठ र मेसिन वन कार्यालयको नियन्त्रणमा छ ।
यसैगरी, पुष्पवलपुर सवडिभिजन वन कार्यालय र भाटीघारी सामुदायिक वनका पदाधिकारीहरूको संयुक्त गस्ती टोलीले धनुषाको मिथिला नगरपालिका –३, लालभितिबाट १० थान साल जातको गोलिया बरामद गरेको छ । वन क्षेत्रबाट अवैध रूपमा काठ ओसारपसार भइरहेको थाहा पाएपछि टोलीले काठ बरामद गरेको हो ।
वन संरक्षण अधिकारीले धनुषामा अवैध काठ तस्करी रोक्न थप कदम चाल्ने बताएका छन् । डिभिजनल प्रमुख सिंहले भन्नुभयो, “अवैध काठ ओसार–पसारमा संलग्न कुनै पनि व्यक्ति वा समूहलाई कानुनी कारबाही गरिनेछ । धनुषाका विभिन्न क्षेत्रमा वन अपराध नियन्त्रणका लागि सुरक्षा गस्तीलाई थप प्रभावकारी बनाउने योजना अघि सारिएको छ ।”
वन क्षेत्रको संरक्षण र वन पैदावारको अनियमिततामा रोक लगाउन वन कर्मचारी र स्थानीय समुदायबिच सहकार्य आवश्यक भएको उहाँले बताउनुभयो ।