• २१ माघ २०८१, सोमबार

अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत

blog

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आम जनता पार्टीका केन्द्रीय सचिव एवम् प्रवास प्रमुख बाबुराम कौशिकसहितलाई माओवादी केन्द्रमा स्वागत गर्नुहुँदै । तस्बिर अध्यक्ष प्रचण्डको सचिवालय

काठमाडौं, माघ २१ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम जनता पार्टीका केन्द्रीय सचिव एवम् प्रवास प्रमुख बाबुराम कौशिकसहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले सोमबार बिहान आफ्नो निवास खुमलटारमा आयोजित कार्यक्रममा उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो ।

पार्टी प्रवेश गर्नेहरुमा आजपाका स्थायी समिति सदस्य एवम् पर्सा इञ्चार्ज कदम रसुल, व्यापार महासङ्घका पूर्वकेन्द्रीय सदस्य बीरबहादुर बिदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरु अवताव अहमद, सजीव गुप्ता, दिलीप गुप्ता, विकास पटेल, जिल्ला सदस्य आकाश पटेल, जिल्ला सदस्य नारायण देवान, नगर सदस्यहरु सुनिल मोदी, नुर मियाँ, सोनालाल मण्डल, चुनु महतोलगायत रहनुभएको छ ।


पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले देशव्यापीरुपमा माओवादी केन्द्रमा प्रवेशको लहर चलेको उल्लेख गर्दै सबैलाई एकताबद्ध र ध्रुवीकृत हुन आह्वान गर्नुभयो ।

उहाँले पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउने बताउनुभयो । विचार मिल्ने विभिन्न धारासँग एकताका लागि पनि पहल भइरहेको जानकारी दिँदै उहाँले यस्ता प्रवेशले एकता र ध्रुवीकरणका लागि दबाब नै पुग्ने बताउनुभयो ।

नवप्रवेशी बाबुराम कौशिकले आफूहरुले पार्टीलाई माओवादी केन्द्रसँग एकताका लागि दबाब दिए पनि ढिलाई भएकाले आफूहरु प्रवेश गरेको जानकारी दिनुभयो । उहाँले माओवादी आन्दोलनबाट विभक्त भएका कुनै पनि समूहले सफलता प्राप्त गर्न नसकेको र ढिलोचाँडो सबै माओवादी केन्द्रमा समाहित हुने बताउनुभयो ।