• २१ माघ २०८१, सोमबार

कोहलपुरमा सात हजारभन्दा बढी बालिकालाई एचपिभी खोप लगाइने

blog

खोप अभियान बारे सरोकारवालालाई जानकारी गराउँदै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, माघ २१ गते ।
बाँकेको कोहलपुरमा सात हजारभन्दा बढी बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ एचपिभी खोप लगाइने भएको छ ।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीका अनुसार कोहलपुर नगरपालिकाका १५ वटा वडाका सात हजार ४५८ जना किशोरीलाई एचपिभी खोप दिन लागिएको हो ।

कोहलपुर नगरपालिकाका विद्यालयमा अध्ययनरत छ हजार ८०९ जना र विद्यालय बाहिर रहेका ६४९ जना किशोरीलाई खोप लगाउन लागिएको ठकुरीले जानकारी दिनुभयो ।

विद्यालय र स्वास्थ्य संस्था गरी ४६ वटा खोप केन्द्रबाट माघ २९ गतेसम्म कोहलपुरमा एचपिभी खोप लगाइने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अमृत रानाले बताउनुभयो ।

यही माघ २२ गतेदेखि कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने रानाले जनाउनुभयो ।

एचपिभी खोपबारे जनप्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीहरुलाई जानकारी दिन आइतबार कोहलपुर नगरपालिकामा आयोजित अभिमुखिकरण कार्यक्रममा पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप प्रभावकारी भएकाले सो अभियानलाई सफल बनाउन सबैलाई सक्रिय हुन शाखा प्रमुख ठकुरीले आग्रह गर्नुभयो ।

उहाँले उमेर पुगेका लक्षित बालिकाहरुलाई खोप लगाएर पाठेघरको क्यान्सर हुने जोखिमबाट जोगाउन आग्रह समेत गर्नुभयो । नेपालमा औंसतमा दैनिक चार जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्याङ्क रहेको रानाले बताउनुभयो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा नम्बर एकका वडा अध्यक्ष बद्री जैशी, वडा नम्बर छ का वडाअध्यक्ष श्रीकृष्ण थारु, सातका वडा अध्यक्ष ठग्गा थारु, आठका वडा अध्यक्ष लाल बहादुर राना, ११ का वडा अध्यक्ष कल्पना शर्मा, १२ का वडा अध्यक्ष बिरेन्द्रकुमार शाह, आर्थिक समिति संयोजक अनिता बुढा, सुशासन समिति संयोजक सुनिता विष्ट लगायतको उपस्थिति रहेको थियो ।