• २१ माघ २०८१, सोमबार

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

blog

नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष हनुमानढोका हेरचाह अड्डाका मुल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, माघ २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण गर्नुभएको छ । सोमबार शुभ साइतमा उहाँले वसन्त श्रवण गर्नुभएको हो ।

हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मुल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो ।


परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो ।

उक्त अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरुको उपस्थिति रहेको थियो । उहाँहरुले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गर्नुभयो ।


श्रीमद्भागवत महापुराणमा भगवान श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उहाँका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवानको आराधना गरेको प्रसङ्ग उल्लेख छ ।

वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको सुरुवात हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउँछ । त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको थियो भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रस्तुत गरिएको थियो ।