धनुषा समाचारदाता
धनुषा, माघ २१ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सुशासन प्रवर्धनका लागि सहकारीले आफ्नो उद्देश्य अनुरूप काम गर्नुपर्ने बताउनुभएको छ ।
जनकपुरधाममा आइतबार आयोजना गरिएको सहकारी सुशासन प्रवर्धनसम्बन्धी मधेश प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा उहाँले सहकारी स्थापनाको उद्देश्य अनुसार काम गर्न कमजोरी भइरहेको बताउनुभएको हो । सहकारीले समाजमा सकारात्मक परिवर्तनका लागि उद्देश्य अनुसार काम गर्नुपर्नेमा उहाँको जोड थियो ।
सहकारीले साना वस्तुको उत्पादनपछि बजारीकरणको काममा प्रभावकारी भूमिका खेल्ने भएकाले त्यसतर्फ ध्यान दिन सहकारीकर्मीलाई आग्रह गर्नुभयो । चुरिया क्षेत्रमा रहेका खाली जग्गामा औषधीजन्य जडीबुटीको प्रशोधन गरी बजारीकरण गर्न सके देशको अर्थतन्त्रमा ठुलो मद्दत पुग्ने भएकाले त्यसतर्फ लगानी आवश्यक रहेको बताउनुभयो ।
सो क्रममा मुख्यमन्त्री सिंहले मधेश प्रदेशको भूभागमा रहेको खाली जग्गालाई व्यवस्थित गर्ने काममा प्रदेश सरकार अघि बढेको जानकारी दिनुभयो । खाली जग्गाको उपयोग हुनुपर्ने र त्यसमा सहकारीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका अध्यक्ष ओमदेवी मल्लले सहकारीले समाज रूपान्तरणका लागि विभिन्न क्षेत्रमा प्रभावकारी उपस्थिति जनाए पनि केही व्यक्तिका कारण सहकारी क्षेत्र बदनाम हुन पुगेको धारणा राख्नुभयो । सहकारीले समाजका लागि गरेका कामकाजको विषयलाई प्रचारमा ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
वर्तमान सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेशमा कर्जा सूचना केन्द्रलगायत विषय समेटेकाले त्यसले सहकारीका कतिपय समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।