रमेश विश्वकर्मा
गुल्मी, माघ १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारको रूपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
गुल्मीको मदाने गाउँपालिका-६ मा रहेको कङ्के देउराली जलासय र बृहत्तर खानेपानी आयोजनाको स्थलगत निरीक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने आधारको रूपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभएको हो ।
कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजना समग्र तीन जिल्लाको भाग्य भविस्य निर्धारण गर्न महत्त्वपूर्ण हुने चर्चा गर्नुभयो। यो आयोजनालाई तीन तहका सरकारले साझा योजनाको रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले प्रदेशको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन सर्किट निर्माण गर्ने योजना प्रदेश सरकारले अघि सार्दै आएको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।
प्रदेशभित्रका प्रमुख धार्मिकस्थल, पुरातात्त्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरूलाई आपसमा जोडेर आकर्षक सर्किट निर्माण गरिने, यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने उहाँले बताउनुभयो। ‘हाम्रो प्रदेश मिनी नेपालको रूपमा परिचित छ । यहाँ हिमाल, पहाड, तराईको विविधतायुक्त भुगोल छ ।
"पुरातात्त्विक सम्पदाहरूको संरक्षण गरेर पर्यटकहरूलाई भित्र्याउने मुख्य सङ्कल्प छ," उहाँले भन्नुभयो, "समृद्ध लुम्बिनी प्रदेशको आधारको रूपमा पर्यटन क्षेत्रलाई लिएका छौं। यसबाट स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाउन सक्ने प्रसस्त आधारहरू छन् । पर्यटन पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर सरकारका विभिन्न निकाय, निजी क्षेत्र, स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढ्नुपर्छ।"
"हामी पर्यटनलाई समृद्धिको मेरुदण्डका रूपमा विकास गर्न चाहन्छौं । यसका लागि आवश्यक पूर्वाधार निर्माण, सेवा प्रवाह सुधार र समग्र पर्यटन प्रवर्धनमा जोड दिएका छौं," उहाँले भन्नुभयो, "पर्यटनको क्षेत्रबाट स्थानीय स्तरमा प्रसस्त रोजगारीको अवसर सृजना गर्न सकिन्छ। कतिपय भइरहेको पनि छ ।" प्रदेश सरकारले दिगो पर्यटन प्रवर्द्धनमा ध्यान दिँदै नीतिगत सुधार लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री आचार्यले बताउनुभयो।
मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य थापा, पूर्व सहरी विकास मन्त्री रामकुमारी झाँक्री, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, ईश्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्कालगायतको बिशेष उपस्थिति थियो।
अन्तरक्रिया तथा बैठकले कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनालाई साझेदारी रूपमा अघि बढाउने निचोड निकालेको छ।
कङ्के देउराली कस्तो आयोजना हो ?
कङ्के देउराली, जलाशय र बृहत्तर खानेपानी आयोजना नेपालकै राष्ट्रिय गौरवको महत्त्वपूर्ण र नमुना परियोजना हो। जसले स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरको विकासमा ठुलो योगदान पुर्याउने छ। यो आयोजनाको आर्थिक र पर्यटकीय दृष्टिबाट महत्त्वपूर्ण छ। जसले मदानेको मात्रै नभएर छिमेकी जिल्लाहरू प्यूठान, अर्घाखाँची र बागलुङलाई मात्रै नभई लुम्बिनी प्रदेश र समग्र नेपालको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। यो आयोजनाले सिंचाई र कृषि उत्पादन बढाउन, पानी आपूर्ती र जनस्वास्थ्य सुधारमा, स्थानीय रोजगारी र व्यापार प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ।
कङ्के देउराली पर्यटन क्षेत्रको अवलोकन गरिसकेपछि पुर्कोटको कोट, अरविन्द आश्रमको अवलोकन गरी ढोरपाटन क्षेत्रको अवलोकन तथा शिकार आरक्षमा सिकार गर्ने बनाउने, कङ्के देउराली, गौमुखी हुँदै स्वर्गद्वारी यात्रामा सरिक गराउने, कङ्के देउराली पर्यटन क्षेत्रको अवलोकन गरिसकेपछी पुर्कोटको कोट अवलोकन गराई टोप्रेको गुफा गौमुखीको दर्शन गराई स्वर्गद्वारी आश्रममा पुर्याउने, कङ्के देउराली धुर्कोट रेसुङ्गा हुँदै रुरुक्षेत्रको यात्रामा सरिक गराउने, कङ्के देउराली पर्यटन क्षेत्रको अवलोकन गरिसकेपछि ऐतिहासिक धुर्कोटको कोट र विचित्र गुफाको अवलोकन गराइसकेपछि रेसुङ्गा तपोभूमि श्रृङ्गेश्वर र रुरुक्षेत्रको यात्रामा सरिक गराउने योजना छ।