• १९ माघ २०८१, शनिबार

उर्मा–भादा–रामपुर सडक निर्माण सुस्त

blog

धनगढी समाचारदाता

धनगढी, माघ १९ गते  । कैलालीको धनगढी उपमहानगरपालिका–१५ र १६ जोड्ने उर्मा–भादा–रामपुर सडक निर्माण सन्तोषजनक नदेखिएको गुनासो भइरहेका छन् । निर्माण कम्पनीले तदारुकताका साथ काम नगरेपछि प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा र होमस्टेगाउँ भादा पनि ओझेलमा पर्न थालेका छन् । सडक निर्माणमा अत्यन्त ढिलासुस्ती भइरहेको धनगढी उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामलाल चौधरीले गुनासो गर्नुभएको छ ।  

“निर्माण कम्पनीले धेरै ढिला गरिरहेको छ । सडक निर्माणको म्याद सकिए पनि वन क्षेत्रमा कल्भर्ट बनाउने काम मात्रै गरिरहेको देखिन्छ,” उहाँले भन्नुभयो, “राम्रोसँग काम भइरहेको छैन ।” कैलाली क्षेत्र नम्बर ५ मा आएको सांसद विकास कोषको रकमबाट १० किलोमिटर कालोपत्रे सडक निर्माणका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरले २०७९ वैशाख २ मा ठेक्का दिएको थियो । १० करोड ५२ लाख ८२ हजार रुपियाँमा ठेक्का पाएको वज्रगुरु बी एन्ड भी सनलाइट जेभीले तदारुकतापूर्वक काम गर्न सकेको छैन । सडक निर्माण अवधि २०८० पुस २ गतेसम्म रहेको थियो । सडकको म्याद सकिए पनि हालसम्मको भौतिक प्रगति ३० प्रतिशत मात्रै रहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । 

सडक निर्माणका लागि प्रत्येक वर्ष बजेट आइरहे पनि निर्माण कम्पनीले काम नगरेका कारण अझै आधा पनि काम नभएको इञ्जिनियर प्रकाशबहादुर खड्काले बताउनुभयो । सडकको बहुवर्षीय ठेक्का लगाइएकाले बजेट हरेक वर्ष आइरहेको छ तर निर्माण कम्पनीले राम्ररी काम नगर्दा सडक अधुरै रहेको उहाँले टिप्पणी गर्नुभयो ।   उर्मा–भादा–रामपुर जोड्ने सडकको चौडाइ १० मिटर रहने छ । सडकको साढे पाँच मिटर चौडाइमा डबल बिटुमिन सरफेस ट्रिटमेन्ट (डिबिएसटी) प्रविधिबाट कालोपत्रे गर्ने जनाइएको छ । यसै गरी सडकको विभिन्न ठाउँमा ड्रेन, कलभर्ट निर्माण गर्ने जनाइएको छ । सडक अन्तर्गत हालसम्म दुई वटा कल्भर्ट निर्माण भएको र अन्य निर्माणाधीन अवस्थामा रहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । सडक निर्माण गरिरहेको निर्माण कम्पनी सनलाइट निर्माण सेवाका सञ्चालक रोशन अधिकारीले सडकमा जङ्गल परेका कारण काम गर्न समस्या भइरहेको दाबी गर्नुभयो । उहाँले सडकको काम जुन गतिमा हुनुपर्ने हो, त्यो गतिमा नभएको स्विकार्दै कलभर्ट निर्माण, सडक कटिङ र फिलिङको काम भइरहेको बताउनुभयो । 

भएका सडकलाई समेत तोडफोड गरेर निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दा आउजाउमा समस्या भइरहेको थारू होमस्टेगाउँ भादा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउनुभयो । उहाँले सडक समस्याका कारण पर्यटनमा असर परेको उल्लेख गर्नुभयो ।