• २९ वैशाख २०८१, शनिबार

मानसिक रोगको उपचार गरे ८० प्रतिशत नियन्त्रण हुन्छ

blog

काठमाडौं, जेठ १३ गते । पछिल्लो समय जुनसुकै उमेर समूहका मानिसमा मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा २५ प्रतिशत मानिसलाई कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको छ । नेपालमा कुल नसर्ने रोगहरुको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ ।

त्यसैगरी, अपाङ्गता गराउने प्रमुख १० कारकहरु मध्ये चारवटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन् । अस्पताल आउने पाँच जनामध्ये एक जनामा कुनै न कुनै किसिमको मानसिक समस्या देखिने चिकित्सक बताउँछन् । लगनखेलस्थित मानसिक अस्पतालमा गत आर्थिक वर्ष मात्रै ३५ हजार मानसिक बिरामीले ओपिडीमा सेवा लिएको अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

डा. अधिकारीका अनुसार सोही वर्ष साढे छ सयजना मानसिक बिरामी अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा आएका बिरामीमध्ये २० देखि ३० प्रतिशतमा बिरामीमा कडा खालको मानसिक समस्या देखिने डा. अधिकारी बताउनुहुन्छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल २०७७ को नतिजाअनुसार, नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोर किशोरीहरुमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । जसमा, २.८ प्रतिशतमा चिन्ताजन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेसनको समस्या पाइएको छ । यसैगरी, ३.९ प्रतिशतमा डिप्रेसन, ०.२ प्रतिशतमा साइकोसिस र ७.२ प्रतिशतमा आत्महत्या सम्बन्धी सोचको अवस्था देखिएको छ ।


वि.सं २०६५ मा प्रजनन् उमेर समूहका महिलामा गरिएको अध्ययन प्रतिवेदनअनुसार यो समूहका महिलामा मृत्युको पहिलो कारण आत्महत्या पाइएको छ । नेपालमा जुनसुकसुकै उमेर समूहका मानिसमा पनि मानसिक समस्या बढ्दै जानु जनस्वास्थ्यका लागि चुनौतीको विषय थपिएको जानकारी सरोकारवाला निकाय दिन्छन्।

विश्वभरमा लगभग २० प्रतिशत बालबालिका तथा किशोर किशोरीहरुमा भावनात्मक, व्यावहारिक तथा अन्य खालको मानसिक स्वास्थ्य समस्या भएको अध्ययनहरुले देखाएका छन् ।

मानसिक स्वास्थ्य भनेको के हो ?

विश्व स्वास्थ्य सङ्गठनकाअनुसार मानसिक रुपमा स्वास्थ हुनु भनेको मानसिक रोग नहुनु मात्र नभएर आफ्नो व्यक्तिगत क्षमता बुझेर जीवनको दैनिक तनावलाई सामाना गर्दै ऊर्जाशील सामाजिक जीवन जिउन सक्नु हो । त्यसैले, मानसिक रुपमा स्वस्थ हुनु भनेको शारीरिक रुपमा स्वास्थ हुनुका साथसाथै भावनात्मक, मनौवैज्ञानिक र सामाजिक रुपमा पनि स्वास्थ हुनु हो ।


चिकित्सकअनुसार मानसिक स्वास्थ्यले हाम्रो शरीरको एक तिहाइ भाग ओगटेको छ त्यसैले, मानिसहरु शारीरिक र मानसिक हिसाबले स्वास्थ हुन जरुरत हुन्छ । मानिसहरु शारीरिक रुपमा बिरामी भएमा तुरुन्त अस्पताल जाने गर्दछन् तर सामान्य मानसिक समस्या उत्पन्न्न भयो भने समाजले थाहा पाउँछ कि भनेर समस्या लुकाएर बस्ने गरेको पाइन्छ ।


मानसिक स्वास्थ्य समस्याका कारणले उत्पादकत्वमा ह्रास आउने भएकाले परिवार, समाज र राष्ट्रलाई नै ठूलो आर्थिक नोक्सानी पुगिरहेको छ । मानसिक समस्या बढ्नुका कारण मनोचिकित्सक डा. सरोजप्रसाद ओझाकाअनुसार सामाजिक, आर्थिक, मनोसामाजिक, राजनीतिक, तनावग्रस्त जीवनशैली, लागूऔषधको प्रयोग, एक्लोपन, वातावरणीय कारणले मानसिक समस्या उत्पन्न हुने गर्छ ।

पछिल्लो समय मानसिक समस्याको बारेमा बिरामी खुलेर अगाडि आउन थालेपछि मानसिक समस्याका बिरामी बढेको जस्तो देखिएको हुन सक्ने मनोचिकित्क डा. ओझा भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिले पनि हाम्रो समाजमा मानसिक समस्या थियो, तर पछिल्लो समय मानसिक रोगको बारेमा चेतना फैलन थालेको छ । त्यसैले पनि बिरामी आफ्नो समस्याको बारेमा खुलेर बताउन थालेकाले बिरामी बढेको जस्तो देखएिको हो ।”

मानसिक रोगका लक्षण डा. ओझाकाअनुसार मन डराउने, काम गर्न जाँगर नहुने, निद्रा नलाग्ने, कसैलाई अरुको अगाडि जान डराउने, छटपटी हुनु, मर्ने सोच आउनु, मर्ने प्रयास गर्नु, डर लाग्नु, एक्लै बस्न मन पराउनु, एकोहोरो हुनु, धेरै रिसाउने, दैनिक कामहरू पूरा गर्न नसक्नु मानसिक समस्याका लक्षणहरु हुन ।

जोखिम समूह

कतिपय मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई शारीरिक समस्या पनि हुने दर अरुको तुलनामा बढी हुन्छ । मुटु रोग, दम वा मधुमेह भएका बिरामीलाई डिप्रेसन सम्भावना २ देखि ३ गुणा बढी हुन्छ । वास्तवमा गम्भीर खालको मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुमा मधुमेह, उच्च रक्तचाप वा मुटुरोग जस्ता समस्या हुने सम्भावना ज्यादा हुने भएकाले उनीहरुको आयु सामान्य मानिसहरुको भन्दा धेरै कम हुन्छ ।

त्यसका अलावा, गरिबी, उपचारबाट बन्चित तथा बेवारिसे व्यक्ति, द्वन्द्व प्रभावित महिला, शारीरिक, मानसिक हिँसा र दुर्व्यहारमा परेका व्यक्तिहरु, ज्येष्ठ नागरिक, दुव्र्यसनमा परेका, कारागारमा सजाय भोगिरहेका, प्राकृतिक विपदमा परेका व्यक्तिहरुमा मानसिक स्वास्थ्य समस्याको जोखिममा बढी हुने गरेको डा.ओझा बताउनुहुन्छ ।

समस्या हुन नदिन डा. अनन्तप्रसाद अधिकारीका अनुसार मानसिक समस्याको कारण पत्ता लगाई समाधान गर्नु नै त्यसबाट बच्ने उत्तम उपाय हो । त्यसको अलावा, आफ्नो समस्याको बारेमा परिवार, साथीभाइसँग खुलेर कुरा गर्ने, राम्रोसँग सुत्ने, शारीरिक कसरत गर्ने, खाली नबस्ने, अनावश्यक तनाव नलिने, लागुपदार्थ सेवन नगर्ने, स्वास्थ जीवनशैली अपनाउने, दैनिक शारीरिक कसरतले मानसिक समस्या कम गर्न सकिने डा. अधिकारीको सुझाव छ । यदि आफूलाई मानसिक समस्या भएको शंका लागेमा तुरुन्त मनोपरामर्शकर्ताकोमा जान चिकित्सकको सुझाव छ ।

मानसिक रोगीको उपचार अन्य शारीरिक समस्या जस्तै मानसिक समस्या पनि उपचारमार्फत् नियन्त्रण गर्न सकिने चिकित्सक बताउँछन् । डा. ओझाकाअनुसार ८० प्रतिशत मानसिक समस्यालाई उपचारमार्फत् नियन्त्रण गर्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “सामान्य खालका मानसिक समस्या परार्मश र आफ्ना कुरा कसैसँग भनेर नियन्त्रण गर्न सकिन्छ ।

त्यस्तैगरी, कडा खालका मानसिक समस्या भने उपचार मार्फत नियन्त्रण गर्न सकिन्छ ।” डिप्रेसन र चिन्ताजन्य समस्याको उपचारमा एक रुपैया खर्च ग¥यो भने त्यसले चार रुपैया बराबरको प्रतिफल दिन्ने अध्ययनहरुले देखाएका छन् । मानसिक स्वास्थ्य रणनीति सरकारले सन् २०२५ सम्म सबै जिल्लामा मानसिक सेवालाई प्राथमिकतामा पारेको छ ।

संयुक्त राष्ट्र सङ्घको दीगो विकास लक्ष्य २०१६ –२०३० मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्य प्रवर्धन गर्ने लक्ष्य रहेको छ । त्यसैगरी, नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना २०७६–२०८१ मा पनि मानसिक स्वास्थ्य सेवाको पहुँच सबै तहमा विस्तार गर्दै लैजाने योजना छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।