• १२ असार २०८१, बुधबार

बुटवलको जीर्ण सडक मर्मत तथा कालोपत्रे गर्न सुरु

blog

कपिल ज्ञवाली
सिद्धार्थनगर, जेठ १३ गते ।
लामो समयदेखि अलपत्र अवस्थामा रहेको बुटवलको मुख्य सडक मर्मतको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका नव निर्वाचित प्रमुख खेलराज पाण्डेयको सक्रियतामा सडक मर्मत तथा कालोपत्रे हुने भएको छ  । नगरमा निर्वाचित भएर कार्यभार सम्हालेको दोस्रो दिनमा नै सडक र सरोकारवाला निकायकाबीचमा बैठक बसेर सडक निर्माणलाई तीव्रता दिने निर्णय भएको थियो ।

नगरकै निर्णयका आधारमा सर्वपक्षीय छलफलले बाटो निर्माणमा सहमति जुटेपछि शुक्रबार बिहानबाट बुटवलको राजमार्ग चौराहादेखि ट्राफिकचोकसम्मको सडक तत्काल मर्मत, कालोपत्रे, ढलान गर्न सुरु भएको नगर प्रमुख खेलराज पाण्डेले बताउनुभयो ।

‘‘हाम्रो पहलमा सबैको सहयोगमा आवश्यकताका आधारमा सडक मर्मत, कालोपत्रे, ढलानको काम आरम्भ भएको छ, चौराहामा रहेको प्रथम सहिद लखन थापाको शालिक वरिपरिको भत्किएको भागमा ढलान, त्यस्तै पुष्पलाल पार्क (अस्पताललाइनमा) पनि ढलान, नाली निर्माण हुनेछ, बुटवलका सबै खाल्डाखुल्डी पुरिनेछ भने भुड्कीचोकदेखि ट्राफिकचोक भूपीशेरचन चोकसम्मको सडकलाइ कालोपत्रे गर्ने प्रकृया अगाडि बढाएका छौं ।’’ उहाँले भन्नुभयो  ।

तत्काल बुटवलका नागरिकलाइ धुलो, धुवा र फोहोरमैलाको प्रदुषणबाट टाढा राख्ने योजना रहेको नगरप्रमुख पाण्डेयको भनाइ छ । उहाले आफुले सबैलाइ समेटेर जाने प्रकृयाको थालनी गरेको भन्दै आफ्नो कार्यकक्षमा जननायक वीपी कोइराला र कम्युनिष्ट पार्टीका संंस्थापक पुष्पलालको फोटो राखेको समेत बताउनुभयो । उहाले बुटवल ज्योतिनगरको पहिरो व्यवस्थापन र करिब १४ हजार अव्यवस्थित सुकुम्बासीलाइ बसोबासका आधारमा प्रमाणपत्र वितारणको प्रकृया छिट्टै पुरा हुने समेत जानकारी दिए ।

जेठ १० गतेको उपमहानगरमा बसेको बैठकले माइन्युट नै उठाएर कामको निदेशन दिएको उपप्रमुख साबित्रादेवी अर्यालले बताउनुभयो  ।

ब्यापारिक मार्ग निर्माणको ठेकेदार कम्पनीलाइ निर्माण गर्न निर्देशन दिइएको बुटवल उपमहानगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो । उहाले ठेकेदारले कसरी काम गर्छ त्यो हेर्न बांकी रहेको बताउनुहुन्छ  ।