• १३ साउन २०८१, आइतबार

मुग मकार्मारोङमा जेठ १५ गतेदेखि यार्चा संकलनमा खुला

blog

हरिकृष्ण ऐडी 

मुगु, जेठ १३ गते । जिल्लाको मुगुमकार्मारोङ्ग गाउँपालिकाले १५ जेठदेखि मुगुको पूर्वी करान भेगमा यार्सागुम्बा संकलन गर्न खुला गरेको छ । उक्त अवधिमा जिल्लाभित्र र बाहिरबाट आउने सर्वसाधारणले यार्सा संकलन गर्न सक्ने मुगु मकार्मारोङ्ग गाउँपालिकाले सार्वजनिक सूचनामार्फत् जानकारी दिएको छ ।

वन प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ जेठबाट वन प्रवेश गर्न पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताउनुभयो । उहाँका अनुसार मुग मकार्मारोङ्ग गाउँपालिकाको यार्सागुम्बा कार्यविधि अनुसार जिल्ला भित्रका संकलनकर्ताबाट प्रतिव्यक्ति दुई हजार र बाहिर जिल्लाबाट आउने संकलनकर्ताबाट दुई हजार पाँच सयका दरले कर बुझाउनु पर्नेछ ।

पालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले यार्सागुम्बाबाट संकलन भएको राजस्वले  सुरक्षाकर्मीको रासन र व्यावस्थापनमा खटिएका कर्मचारीलाई केही रकम खर्चिने र बाँकी रकम स्थानीय क्षेत्रको विकासमा प्रयोग गरी राजस्व गाउँपालिकाको खातामा जम्मा हुने बताउनुभयो ।

उक्त राजस्व रकम मुग मकार्मारोङ्ग गाउँपालिकाको कार्यपालिकाको निर्णयअनुसार यहाँको विकास निर्माणका लागि आवश्यकताअनुसार खर्च गरिने उहाँको भनाइ छ ।

गाउँपालिकाको वडा नं २ मुगु गाउँको सामुदायिक वनक्षेत्रमा पर्ने रिमाण ठुलोकोईकी, सानो कोईकी, छापाखोला, र्चाकुखोला लगायत वनमा यार्सा पाइन्छ ।

गाउँ पालिकाको सिरानी चौरमा यार्सा संकलनमा सयौं संकलनकर्ता बसोबास गर्ने भएकाले उक्त ठाउँमा नर्सिङ कर्मचारीसहितको स्वास्थ्यकर्मीको सहजिकरणमा स्वास्थ परीक्षणका लागि स्वास्थ्य हेल्थडेस्कको व्यवस्थापन गरिएको अध्यक्ष लामाले बताउनुभयो ।


यस क्षेत्रका स्थानीयको आम्दानीको स्रोतको रुपमा यार्सा संकलन रहेको छ । हरेक सिजनमा २० देखि ३० दिनसम्म यार्सागुम्बा संकलन गर्दा दुई लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको जुम्ला चौधबीस गाउँमा घर भएका रामसिंङ बुढाले बताउनुभयो । हिमाली जडिबुटी यार्सागुम्बाले आफ्नो घरपरिवारलाई धान्न सहज भएको उहाँको भनाइ छ ।  उहाँका अनुसार यार्सा संकलन हुने ठाँउबाट नै गुणस्तरीय यार्सागुम्बा प्रति पिस चार सय देखि पाँच सय रुपैयाँसम्म विक्री हुने गरेको छ ।

यार्सा संकलनको समयमा वन प्रवेशपछि वातावरणमा असर पुग्ने क्रियाकलाप नगर्न पालिकाले सचेत गराएको छ । १५ जेठबाट यार्सा संकलनको समय अवधिभर जथाभावी सिसा, प्लाष्टिक नफाल्न र रुख बिरुवा नकाट्न, चोरी निकासी नगर्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ ।