• ३ असार २०८१, सोमबार

रुख काट्न अनुमति नपाउँदा काममा ढिलाइ

blog

सुर्खेतको भेरीगंगा–१२, मा टावर राख्नका लागि निर्माण गरिएको जगको फाउण्डेसन । तस्बिर : नविन सुवेदी

सुर्खेत,जेठ १३ गते । कोहलपुर–सुर्खेत १३२ केभि हाइटेन्सन प्रशारण लाईन विस्तारमा सङ्घीय सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालय बाधक बन्दा आयोजना समयमै सम्पन्न नहुने भएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी ७० करोड लागतमा निर्माण हुने आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डमा करीब १३ हजार बढि रुख कटान गर्नुपर्ने हुन्छ ।

सुर्खेत खण्डमा विवाद सुल्झिएको भए पनि बाँके र बर्दिया राट्रिय निकुञ्ज क्षेत्रमा रुख काट्न अनुमति नपाउँदा समस्या उत्पन्न भएको छ । रुख कटानका लागि वन मन्त्रालयमा आयोजनाले आवश्यक फाइल पेश गरिसकेको भएपनि मन्त्रालयले विभिन्न कानुनी अड्चन देखाउदै अनुमति दिन आनाकानी गरिरहेको छ । 

कोहलपुरदेखि सुर्खेतको बुदबुदी सवस्टेशनसम्म करीब ५१ किलोमिटर लाईन विस्तार गर्न २६ वटा एंगल टावरसहित कुल १७० वटा टावर निर्माण गरिनुपर्ने भएपनि हालसम्म मन्त्रालयको अवरोधका कारण विवाद नभएका क्षेत्र सुर्खेत र कोहलपुरका केही ठाउँमा जम्मा ३० वटा बाहेक अन्य ठाउँहरुमा टावरका लागि फाउन्डेसन तयार गर्न नसकिएकोे आयोजना प्रमुख रविसिं चौधरीले जनाकारी दिनुभयो ।

मन्त्रालयलले समयमै कटानको अनुमति दिएको खण्डमा असार अगावै फाउण्डेसन निर्माण गरी सक्ने लक्ष्य राखिएको भएपनि मन्त्रालयको ढिलाईका कारण बाँके राष्ट्रिय निकुञ्ज तथा यसको बफरजोन, बर्दिया राष्ट्रिय निकुञ्जले बर्खामा रुख काट्न नदिने संकेतपछि आयोजना थप प्रभावित हुने भएको हो ।

असार अगावै आयोजनाले रुख कटानको अनुमति नपाएको खण्डमा टावरको जग निर्माणको कार्य रोकिने छ । तर, जग निर्माणको काम रोकिए पनि निर्माण सम्पन्न भएका जगहरुमा पिल्लर ठ्ड्याउने काम भने जारी रहने आयोजना प्रमुख चौधरीले बताउनुभयो ।

प्रसारण लाइनमा ७०.५४५ भाग वन क्षेत्र, १६.१३५ खेतीयोग्य जमिन, २.२६५ बाजो जमिन, र ११.०६५ अन्य पर्नेछन् । विद्युत प्रसारण कार्यान्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन, तथा सरकारी वन क्षेत्र गरेर कुल २२५ वर्ग मिटर क्षेत्रफलको जमिन समेटिने छ । आयोजना कार्यान्वयन गर्दा कूल ९८.०५७९ हेक्टर जग्गा टावर निर्माण, सव–स्टेशन निर्माण तथा क्षेत्राधिकारको लागि आवश्यक ठानिएको छ ।

जसमध्ये ३.७२४९ हेक्टर स्थायी रूपमा सव–स्टेशन निर्माणको लागि र ३.३०७५ हेक्टर टावरको जग निर्माणको लागि अधिग्रहण गरिनेछ भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गर्न सकिने उल्लेख छ । सव–स्टेशन निर्माण हुने सुर्खेतको बुदबुदीमा ३.७२४९ हेक्टर जमिन आवश्यक पर्नेछ । आयोजना लुम्बिनी प्रदेशको बाँके, बर्दिया तथा कर्णाली प्रदेशको सुर्खेतभित्र अवस्थित रहनेछ ।

जसमा धेरै जसो भू–भाग वन तथा खेतीयोग्य जमिन ओगटिने छ । १३२ केभी विद्युत प्रसारण लाइन विस्तार नहुँदा सुर्खेतसहित कर्णालीका सात जिल्लाका नागारिकले सास्ती भोग्दै आउनु भएको छ । हाल १३२ केभी प्रशारण लाइन नहुँदा सुर्खेत लगायत सात जिल्लाको विद्युत सेवा सामान्य हावाहुरी चल्दासमेत हप्तौ अवरुद्ध हुने गर्दछ ।