सिराज खान
नेपालगन्ज, माघ १७ गते । बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा डेन्टल कलेज सञ्चालनसँगै दाँतको विशेषज्ञ उपचार सेवा समेत सुरु गरिएको छ ।
डेन्टल कलेज प्रशासनले पुस २५ गतेदेखि डेन्टल कलेजमा अध्ययन/अध्यापन सुरु भइसकेको जनाएको छ । काठमाडौं विश्वविद्यालयबाट स्वीकृत प्राप्त कोहलपुर डेन्टल अस्पतालमा पहिलो वर्षमा बिडिएस कार्यक्रमतर्फ १५ जना र बिएमएलटी तथा बिएमआइटीतर्फ पाँच÷पाँच जना विद्यार्थीको कोटा प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।
विश्वविद्यालयको प्रावधान अनुसार बिडिएस कार्यक्रमतर्फ अधिकतम ४० तथा बिएमएलटी र बिएमआइटीतर्फ २०/२० जना विद्यार्थी कोटा निर्धारण हुने भए पनि आवश्यक पूर्वाधारको अभावमा पहिलो चरणमा तीन कार्यक्रमका लागि २५ जना विद्यार्थीको कोटा सुनिश्चित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार बिएनले जानकारी दिनुभयो ।
अस्पतालले दाँत परीक्षण सम्बन्धी नौ वटा डिपार्टमेन्टको स्थापना गरी अति विशिष्ट विशेषज्ञद्वारा उच्चस्तरीय सेवा समेत सुरु गरिएको उहाँले बताउनुभयो ।
अधिकृत विएनका अनुसार सो अस्पतालमा ओरल मेडिकल एन्ड रेडियोलोजी, मुख तथा अनुहारको शल्यक्रिया (मुख तथा अनुहारको क्यान्सर, हड्डी मिलाउने, कृतिम जरा राखी दाँत हाल्ने, अनुहारमा चोट पटक लागेको मिलाउने), प्रोस्थोडोन्टिक्स (नक्कली दाँत हाल्ने, फिक्स दाँत झिक्ने र राख्ने, पूरै सेट दाँत हाल्ने, नक्कली आँखा, नाक, कान र गाला मिलाउने), बाङ्गो दाँत मिलाउने, नमिलेको गिजा (हड्डी) मिलाउने सेवासँगै गिजासम्बन्धी विशेषज्ञ सेवा तथा बच्चाहरुको दाँत विशेषज्ञद्वारा सेवा प्रदान भइरहेको छ ।
त्यसैगरी, दाँतसम्बन्धी सबै प्रकारका रोग पत्ता लगाउने विशेषज्ञ सेवा, दाँतको जरासम्बन्धी सम्पूर्ण उपचार सेवा स्वास्थ्य शिविर र जन समुदाय स्तरमा दाँतसम्बन्धी जनचेतना जस्ता डिपार्टमेन्टहरू सञ्चालनमा आएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सम्पर्क अधिकृत रामकृष्ण हमालले जानकारी दिनुभयो ।
लर्ड बुद्ध एजुकेसनल एकेडमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर २०५३ सालदेखि सञ्चालनमा रहेको छ ।