निशा राई
धरान, माघ १७ गते। धरान उपमहानगरपालिकामा तामाङ जातिको नयाँ वर्ष सोनाम ल्होछार २८६१ को अवसरमा सांस्कृतिक झाँकी र्यालीसहित भव्य रूपमा मनाएका छन्।
बिहीबार तामाङ घेदुङ नगर समितिले आफ्नो संस्कार संस्कृति सहित धरानका गुम्बाबाट र्याली निकाली भानुभोक हुँदै छाता चोक, सिँहदेवि चोक, पुरानो बजार, देशी लाइन हुँदै पुनः भानु चोकमा आफ्नो संस्कार संस्कृतिको र्याली गरेको थियो।
संस्कार, संस्कृति बन्न हजारौं लाखौं वर्ष लाग्छ त्यसैले सबै जातजातीको धर्म संस्कार संस्कृति जोगाउनुपर्ने कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईले बताउनुभयो। जाती राष्ट्र हो र सोनाम ल्होसार राष्ट्रीय पर्व हो, यो सबै जातजातीले मनाउनुपर्छ, सबैले सबै जातीको धर्मको सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो।
नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले सोनाम ल्होछार पर्व माघ १७ गतेदेखि १५ दिनसम्म विविध कार्यक्रम मनाउने आयोजकले जनाएको छ। तामाङ जातीको नयाँ वर्षको रूपमा मनाउँदै आएको सोनाम ल्होछारका कार्यक्रम यस अघिका वर्षमा सांस्कृतिक पर्यटन महोत्सवको रूपमा मनाउँदै आएको घेदुङका सचिव ललितबहादुर तामाङले बताउनुभयो।
कार्यक्रममा २० वटै वडाको तामाङ सेलो नृत्य प्रस्तुत गरिएको थियो। नेपालसहित भारत, चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस्, थाइल्यान्ड, भुटानलगायत देशमा पनि माघ शुक्ल प्रतिपदाको तिथीमा नै सोनाम ल्होछार धुमधामले मनाउने गरिन्छ।
कार्यक्रममा धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र बिक्रम बेघा, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक दिवश कुँवर, धरानका वडाध्यक्षहरू, जनप्रतिनिधिलगायत विभिन्न राजनितिक दलका प्रतिनिधिको उपस्थिति थियो।