• १८ माघ २०८१, शुक्रबार

सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने : सञ्चारमन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले बिहीबार भृकुटीमण्डपमा आयोजना गरेको ‘८औँ नेपाल चेम्बर एक्स्पो २०२५’ लाई सम्बोधन गर्दै  सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्र बलियो बनाउन पूर्वाधार निर्माण र नीतिगत काम मन्त्रालयले गरिरहेको जानकारी दिनुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विगतमा नेपालको अर्थतन्त्र कमजोर रहेकामा वर्तमान सरकारको प्रयासले सुधार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी नीतिगत र पूर्वाधार निर्माण दुवैमा सक्रिय भई काम गरिरहेका छौँ ।” उहाँका अनुसार यसै वर्षभित्र नेशनल पार्क, आइटी पार्कलगायतका आइटी क्षेत्रको पूर्वाधार निर्माण गरिनेछ ।


सरकारले ल्याएको अध्ययादेशले व्यावसायीमा उत्साह थपेको र अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ । उहाँले मन्त्रालयमा एआई नीति मस्यौदा छलफलका क्रममा रहेको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले डिजिटल नेपाल अभियानलाई जोड दिइ अर्थतन्त्रमा पाँच प्रतिशत योगदान पुर्‍याउने सरकारको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा आइटी क्षेत्रबाटै रोजगार सुनिश्चित गर्न सकिने आधार सिर्जना गर्न मन्त्रालय सक्रिय रहेको बताउनुभयो ।