बाबुराम देवकोटा
सिन्धुलीमाढी, माघ १७ गते । सिन्धुलीको सुनकोसी गाउँपालिका–६ खाल्टेस्थित दिर्घप्रदिप माविमा अध्ययनरत छात्र सुमन माझीलाई विद्यालयसम्म पुग्न निकै सास्ती हुन्छ । विद्यालयमा पढ्न आउन सहज बनेको सुनकोसी नदीमा रहेको झोलुङ्गेपुल गत असोजको दोस्रो सातामा आएको सुनकोसी नदीको बाढीले बगाएसँगै आफूले सास्ती भोग्नु परेको उहाँको गुनासो छ ।
रामेछापको खाडादेवी गाउँपालिका पुछिघाट निवासी सुमनलाई विद्यालय आवातजावत गर्न दैनिक सुनकोशी नदी वारपार गर्नुपर्छ । पुछिघाट र चैनपुर जोड्ने सुनकोशी नदीमाथि रहेको झोलुङ्गे पुल सुनकोसीको बाढीले बगाएपछि जोखिम मोलेर भए पनि पढन आउनुपरेको उहाँको बताउनुभयो ।
"बाढीले बगाएर बाँकी रहेको पुलको लठ्ठामा बाँधेर राखिएको पाइपमा झुण्डिएर पढ्न आउँछौं," उहाँले भन्नुभयो, "डुङ्गाबाट नदी तर्न माथि जाँदा पढ्न आउन पनि ढिला हुन्छ । घुमेर जाँदा आउँदा रात परिसकेको हुन्छ ।"
उहाँका अनुसार सुनकोसी–६ मा रहेको दीर्घप्रदीप मावि खाल्टे र पञ्चकन्या प्राथमिक विद्यालय चैनपुरमा गरी रामेछापबाट सिन्धुलीतर्फ सुनकोसी नदी पार गरेर २८ जना विद्यार्थी दैनिक आवातजावत गर्छन् । केही विद्यार्थी डुङ्गामार्फत् आउजाउ गर्छन् भने केहि सोही पुलमा झुण्डिएर आवातजावत गर्छन् ।
गत असोजको दोस्रो सातामा सुनकोसी नदीमा आएको बाढीले बगाएर सुनकोसी गाउँपालिकामा पाँच वटा, फिक्कल गाउँपालिकामा छ वटा, गोलन्जोर गाउँपालिकामा चार वटा झोलुङ्गे पुल बगाएको छ। फिक्कल गाउँपालिका अध्यक्ष पार्बती सुनुवारले सुनकोसी नदीको बाढीले पालिकाभित्र चार वटा पुल पूर्णरूपमा बगाएको र दुई वटामा आंशिक क्षती गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार फिक्कल गाँउपालिकाबाट ओखलढुङ्गा जिल्लाका विभिन्न गाउँबस्तीसँग जोड्ने पात्ले, खाङ्साङ्, तीन खण्डेमा गरी चार वटा झोलुङ्गेपुल सुनकोसीको बाढीले पुर्णरूपमा बगाएको छ । त्यस्तै थुल्मे र पञ्चकन्याबाट कटुवा बलखु जोड्ने झोलुङ्गेपुल बगाएर आंशिक क्षेती गरेको छ ।
"आंशिक क्षेती भएका यी दुई पुल मर्मत गर्न सके सञ्चालनमा आउने खालका छन्", उहँले भन्नुभयो, "बाँकी अरू भएको ठाँउमा त नया बनाउनुपर्ने अवस्था छ । उहाँका अनुसार तीन खण्डे पुल बगाएकाले सुनकोसी पारी रहेको माझी बस्तिका बालबालिका समेत पढ्न समस्या भएको छ ।"
उहाँले माझी समुदायको उक्त बस्तीमा पढन विद्यालय नभएकोले त्यहाँका बालबालिका तीन खण्डे झोलुङ्गपुल तरेर सिन्धुलीको फिक्कलको तीन खण्डे आधारभुत विद्यालयमा पढ्न आउने गरेको जानकारी दिनुभयो । "माझी समुदाका बालबालिकालाई पढ्न निकै टाढा जानुपर्ने भएकाले पुल तरेर वारीको नजिकैको विद्यालयमा पढ्न आउथे,’ उहाँले भन्नुभयो, ‘अब पुल छैन, उनीहरूलाई पो समस्या भयो ।"
सुनकोसीको बाढी अघि पुल हुदा सहजै आवतजावत गरेर दैनिकी गुजार्दै आएका स्थानीयलाई समेत बाढीले पुल बगाएपछि समस्या भएको छ । बाढीले बगाएको पुलहरू मध्ये खुर्कोट–मन्थली सडक अन्तर्गत खुर्कोटबाट रामेछापको सेलेघाट जोड्ने सुनकोसी नदीमा नेपाली सेनाले बेलिब्रिज बनाएपछि सञ्चालनमा आएको छ ।
सुनकोसी नदीको बाढीले बगाएका पुलहरू तत्काल मर्मत तथा निर्माण गरी सञ्चालनमा ल्याउन स्थानीयको माग छ ।