• १७ माघ २०८१, बिहिबार

चित्लाङमा दुई पक्कीको पुल शिलान्यास

blog

पुलको शिलान्यास गर्नुहुँदै थाहा नगर प्रमुख विष्णु विष्ट । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, माघ १७ गते ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङ खोलामा दुई वटा पक्की पुलको निर्माण थालिएको छ । वडाको कपुगाउँ, खर्क, खलिवनलगायत वडा कार्यालय तथा काठमाडौं आउजाउ गर्न सहज बनाउन एकै वडाको एउटै खोलामा दुईवटा पक्की पुल निर्माण थालिएको हो ।

दुई पुलको थाहा नगर प्रमुख विष्णु विष्ट, निर्माण व्यावसायी महासङ्घका पूर्व अध्यक्ष तथा समाजसेवी जयराम लामिछाने र वडाध्यक्ष राजकुमार बलामीले सयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो ।

चित्लाङ खोलामा निर्माण थालिएका दुई पुलमध्ये कुस्लेचौर कपुगाउँ जोड्ने पक्की पुलको लागत एक करोड तीन लाख रहेको छ भने भैरवथान–खर्क खलिवन जोड्ने पुलको लागत एक करोड दुई लाख रहेको छ ।

दुई पुल २०८२ असारसम्म सम्पन्न गर्नुपर्ने गरी निर्माण व्यवसायीलाई जिम्मेवारी दिइएको छ । पुल निर्माणका लागि बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय हेटौँडाबाट बजेट विनियोजन भएको हो । पुलको शिलान्यास पश्चात् नगर प्रमुख विष्टले जनताको मागअनुसार एकै गाउँमा एउटा खोलामा दुई वटा पुल बनाउन थालिएकाले निर्माण पश्चात् कृषि उपज बजार पुर्याई आर्थिक गतिविधि चलायमान र वडा कार्यालय आउन तथा चन्द्रागिरि सडकको विकल्पका रूपमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण र आयोजनाको प्रभावकारिता अध्ययन अनुसार गाउँमा उत्पादन भएका कृषि उपजलाई सहजरुपमा बजार पु¥याउन पुलको आवश्यकता देखिएकाले बजेट विनियोजन गरिएको नगरप्रमुख बिष्टको भनाइ छ । शिलान्यास कार्यक्रममा निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष लामिछानेले एकैसाथ शिलान्यास गरिएका दुई पुललाई समयावधि भित्रै काम पूरा गर्न सचेत पनि गराउनुभयो ।