ठाकुर सेनेहाङ
तेह्रथुम, माघ १७ गते । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा भएको द्वन्द्वलाई वार्ता र समझदारीबाट समाधान गर्न सकिने बताउनुभएको छ ।
तेह्रथुमको आठराई गाउँपालिकामा निर्मित बगाले सहिद स्मृति पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुनै पनि समुदायको आस्थामाथि प्रहार गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।
पूर्वमा पहिचानको विषयमा अझै पनि छलफल र बहस भइरहेको बताउँदै उहाँले आफू प्रधानमन्त्री भएका बेला नै पाथीभरा क्षेत्रको विषय उठेको र त्यस क्षेत्रमा द्वन्द्वको स्थिति आउन नदिनका लागि संवाद र सहकार्यका माध्यमबाट प्रयत्न गरेको स्मरण गर्नुभयो ।
पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबुलकार निर्माणविरुद्ध उत्रिएका समूह र सुरक्षाकर्मीबिच माघ १२ गते झडप भएको थियो । केबलकार निर्माण रोक्नुपर्ने विषयलाई लिएर झडप हुँदा विद्रोही समूह र सुरक्षाकर्मी घाइते भएका छन् । सोही झडपको विषयलाई लिएर ‘नो केबुलकार समूह’ ले मङ्गलबार मेची राजमार्ग र तमोर कोरिडोर बन्द गराएका छन् ।
कार्यक्रममा नेता प्रचण्डले हालको सत्ता गठबन्धन अप्राकृतिक र असंवैधानिक भएको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान गठबन्धन लामो समयसम्म टिक्नेमा आशङ्का पनि व्यक्त गर्नुभयो ।