वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, माघ १७ गते । तराई क्षेत्रका किसान यतिबेला मकै खेतीमा हाल्ने युरिया, डिएपी र पोटास मलको पर्खाइमा छन् । पर्याप्त मात्रामा किसानले मल नपाउँदा मकैबोटमा मल हालेर गोड्नसमेत पाएका छैनन् ।
कृषि सामग्री कम्पनीले कृषि सहकारी संस्थामार्फत स्थानीय तहमा कोटाका आधारमा मल वितरण गर्दै आएको छ । तराईका जिल्लामध्ये सुनसुरी मकै उत्पादनका लागि उर्वर भूमि मानिँदै आएको छ । मकैका बिरुवा हुर्कंदै गर्दा नाइट्रोजन, फस्फोरस र पोटास मल हाल्न नपाउँदा किसान चिन्तित बनेका छन् ।
वराहक्षेत्र–९ का कृषक नरबहादुर विष्टले मकैमा हाल्ने मल नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारीमा आउने सीमित मलले सबै कृषकलाई पुगेकै छैन । खेती गर्ने किसानले मल पर्याप्त मात्रामा नपाउँदा लगानी नै डुब्ने हो कि भन्ने डरमा छौँ ।”
सिफारिस अनुसार प्रतिहेक्टर १०४.९ किलोग्राम युरिया, ६५.२२ डिएपी र ५० किलोग्राम पोटासको आवश्यकता पर्ने भए पनि किसानले आवश्यकता अनुसारको मल नपाउँदा उत्पादन घट्ने चिन्तामा परेका छन् । वराहक्षेत्र–१० का किसान सीताराम चन्द्रवंशीले दुई बिघाभन्दा बढी मकै खेतीका लागि उहाँले सहकारीमार्फत एक बोरा युरिया पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक बोरा मल दुई बिघामा कसरी पु-याएर हालौँ ।”
अन्य बालीभन्दा मकै खेतीमै आम्दानी बढी हुने आशाले किसानले हिउँदमा मकै खेती गर्दै आएका छन् । आवश्यक मात्रामा मल र सिँचाइ प्राप्त भएमा प्रतिकट्ठा आठदेखि १२ मनसम्म मकै फलाउन सकिने किसानको भनाइ छ ।
जिल्लाको वराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, कोशी गाउँपालिका, देवानगन्ज गाउँपालिका, बर्जु गाउँपालिका, गढी गाउँपालिकामा व्यावसायिक रूपमा किसानले मकै खेती गर्दै आएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।
सुनसरीका कृषकले कात्तिकको पहिलो हप्ताबाटै मकै खेती लगाउँदै आएका छन् । धान भिœयाएसँगै किसानले हिउँदे बालीमा मकै खेती लगाउँदै आएको ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउनुभयो । यस वर्ष किसानले १२ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उन्नत जातको मकै खेती गर्दै आएका छन् ।