• १८ माघ २०८१, शुक्रबार

सखर बनाउन व्यस्त खोटाङका किसान

blog

उखुको रस आगोमा पकाउँदै ।

राजकुमार भट्टराई 

खोटाङ, माघ १६ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा पिप्ले बेँसीका किसानलाई अहिले उखु पेल्न भ्याइनभ्याइ छ । गाउँका सबै किसान मिलेर यतिबेला गोरुको सहायतामा परम्परागतरूपमा उखु पेल्दै छन् । धेरै ठाउँमा अहिले मेसिनहरू भित्रिसकेका छन् । तर पिप्ले बेँसीका किसानले आफ्नो परम्परा छाडेका छैनन् । 

पिप्ले बेँसीमा पहिले बाजेपुर्खाका पालमा गाउँभरी उखु खेती हुन्थ्यो । अहिले उखु खेती कम हुँदै गएको छ । तर केही किसानले अझै पनि उखु खेती छाडेका छ्रैनन् । उनीहरूले उखु खेती मात्रै गर्दैनन्, आफैं सखर बनाएर बिक्री गर्दै आएका छन् । सखरबाट किसानले राम्रै आम्दानी पनि गर्दै आएको बताउँछन् ।  

पिप्ले बेँसीमा १० घर परिवारले उखु खेती लगाएका छन् । यतिबेला १० घरकै किसान मिलेर उखु पेल्दै सखर बनाउने काम धमाधम भइरहेको छ । उखु पेल्न किसानले गोरुको सहायता लिने गरेका छन्। गाउँले मिलेर वि.स २०३८ सालमा उखु पेल्ने मेसिन ल्याएका छन् । उक्त मेसिन गोरुले घुमाएर उखु पेल्ने गरिएको छ ।  

गोरुको सहायताले उखु पेलेर रस बनेपछि ठुलो कराहीमा मज्जाले पकाइन्छ, अनि खुदो तयार हुन्छ । खुदोलाई पुनः भुङ्ग्रोमा पकाएपछि सखर तयार हुने स्थानीय बृहस्पति कार्कीले बताउनुभयो । कार्कीका अनुसार उखुको रस पेलेर पकाउन थालेको ५ घण्टापछि बल्ल सखर तयार हुन्छ । यसरी तयार पारिएको सखर सेलाउन थप केही समय लाग्छ । तयार भएको सखर विभिन्न बटुकाहरूमा राखेर डल्ला बनाएर धार्नीको हिसाबले बिक्री गर्ने गरिएको कार्कीले बताउनुभयो । यो वर्ष ८ सय रुपियाँ धार्नीले सखर बिक्री भइरहेको छ । 

गाउँका सबै किसानले पालैपालो गोरु ल्याएर उखु पेल्ने गरेका छन् । बिहान एक हल गोरु र दिउँसो पुनः अर्को हल गोरुले मेसिन घुमाएर उखु पेल्ने गरिएको कार्कीले बताउनुभयो । यो वर्ष पिप्ले बेँसीमा करिब ६ क्विन्टल सखर उत्पादन हुने किसानहरू बताउनछ् । एक रोपनी जग्गामा लगाएको उखुबाट सखर बनाएर बिक्री गर्दा एक लाख सम्म आम्दानी हुने स्थानीय कण्ठ कार्कीले बताउनुभयो। सिमित मात्रामा उखु खेती भइरहदा पनि पिप्ले  बेँसीमा अहिले सखरबाट वर्षमा ४ लाख रकम भित्रिने गरेको छ । आगामी दिनमा उखु खेती थप व्यवस्थित र बिस्तार गर्दै लाने किसानहरूको योजना छ।  

औषधीय गुणले युक्त सखर बिक्रीका लागि बजारको समस्या छैन । अघिल्लो वर्ष माघ अनुसार सखर उत्पादन गर्न नसकिएको स्थानीय शम्भु कार्कीले बताउनुभयो ।  

खोटाङ जिल्लामा सखर उत्पादन  हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा पिप्ले बेँसी र ११ राजापानीको भाँडबेँसीमा मात्र हुने गरेको नगरपालिकाका उपमेयर रमेश कुमार राउतले बताउनुभयो । भाँडबेँसीका किसानलाई नगरपालिकाले उखु आफै पेल्ने मेसिन प्रदान गरेपछि अहिले गोरुको आवश्यक पर्दैन। 

नगरपालिकाले उखुसँगै परम्परागत खेतीहरूलाई थप व्यवस्थित र विस्तार गर्ने योजनासहित काम गरिरहेको उहाँको भनाइ छ । उखु, गहत, कपास लगायतका परम्परागत खेतीलाई विस्तार गर्न नगरपालिकाले अनुदानसमेत प्रदान गर्दै आएको छ । 


गोरुको सहायतामा उखु पेल्दै किसान ।