• १७ माघ २०८१, बिहिबार

सीमावर्ती बजार धाउँदै दुर्व्यसनी र कारोबारी

blog

यादवराज पुरी
रौतहट, माघ १६ गते ।
सुरक्षा निकायले पछिल्लो पटक रौतहटमा लागुऔषध सेवनकर्ता तथा कारोबारी उपर निगरानी बढाउन थालेपछि उनिहरू भारतीय सीमा क्षेत्रका बजार तर्फ आकर्षित भएका छन् ।

भारतीय सीमावर्ती बजार बैरगनिया, चमनपुर, बङ्कुल र घोडासहानमा लागुऔषध निर्वाध रूपमा खरिद गर्न पाउने भएपछि रौतहट, बारालगायत छिमेकी जिल्लाका कारोबारी र दुर्व्यसनी त्यता धाउन थालेका हुन् । जिल्लाको विभिन्न स्थानमा लागुऔषधसहित पक्राउ परेका व्यक्ति उपर अनुसन्धान गर्दा उक्त कुरा खुल्न आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

केही समयअघी जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुरलगायतका बजारमा रहेको औषधी पसलबाट नै नेपालमा प्रतिबन्धित औषधीजन्य लागु पदार्थ बिक्री हुँदै आएको थियो । पछिल्लो पटक प्रहरीको सक्रियताले लागुऔषध बिक्री नियन्त्रण त भयो तर सीमावर्ती बजारमा भने यसको खरिद बिक्री निरन्तर हुने गरेको प्रहरी अधिकारीहरू नै बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपककुमार रायका अनुसार चालु आर्थिक वर्षको हालसम्म लागु औषध दुर्व्यसनी तथा कारोबारी गरी १८ जना पुरुष र  एक  जना महिला पक्राउ परेका छन् । जसमध्ये १६ जना उपर मुद्दा चलेको छ । पक्राउ परेका अधिकांश दुर्व्यसनी तथा कारोबारीले भारतीय बजार बैरगनियाबाट नै औषधीजन्य लागु पदार्थ खरिद गरेको बताएका छन् ।

चालु आर्थिक वर्षको हालसम्म औषधीजन्य लागु पदार्थ ‘नाट्राभेट ट्याब्लेट’ आठ सय २४ गोटा, कोरेक्स १०० र ५० एमएल को क्रमशः ११ र एक बोतल, ‘फेनारगन’ ४८ पिस, ‘बुप्रोनाइफाइन’ ८० पिस, ‘डाइजिल्याब’ एक सय ७६ पिस, ‘नुर्फिन’ ९६ पिस, ‘प्रोमिथाजिन’ एक सय ३० पिस र नाम नखुलेको ‘इन्जेक्सन’ चार भाइल बरामद भएको अभिलेख जिल्ला प्रहरी कार्यालयमा रहेको जिल्ला प्रहरी प्रवक्ता रायले जानकारी दिनुभयो । यसैगरी जिल्लाको विभिन्न स्थानबाट गाँजा २७ किलो नौ सय तीन ग्राम र हिरोइन एक ग्राम समेत बरामद भएको अभिलेख छ ।

दुर्व्यसनीमा फसेका चन्द्रनिगाहपुर, बागमती, गरुडा र गौरलगायतका युवा बिहानै स्कुटर, मोटरसाइकल वा टेम्पोमा भारतीय बजार बैरगनिया जान्छन् । लागु औषध सेवन र खरिद गरी आफ्नो बहानमा लुकाईछुपाई ल्याउने पनि गर्छन् । कतिपय पक्राउ पर्छन् भने कोही भित्र्याउन पनि सफल हुन्छन् । भित्र्याइएका प्रतिबन्धित औषधीजन्य पदार्थ जिल्लामा तीन गुणा बढी मूल्यमा बिक्री हुने एक दुर्व्यसनीले नाम सार्वजनिक नगर्न आग्रह गर्दै बताउनुभयो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरे भन्नुहुन्छ ‘‘खुला सिमानाका कारण भारतीय बजार सहजरूपमा आउजाउ हुने तथा भारतमा औषधीजन्य लागु पदार्थ बिक्रीमा कडाई नभएका कारण पनि दुर्व्यसनी र कारोबारी भारतीय सीमाक्षेत्रका बजार तर्फ आकर्षित भएका हुनु । पछिल्लो पटक लागु औषध नियन्त्रण कार्य योजना नै निर्माण गरी रौतहटको छोटी भन्सार रामपुरखाप, औरइया, ब्रम्हपुरी, बङ्कुल र मठियामा प्रहरीको निगरानी बढाइएको छ । यस्तै जिल्लामा रहेको पार्क, पिकनिक स्थल, सार्वजनिक स्थल, मुख्य बजार, खेलमैदान र मठ मन्दिरमा समेत प्रहरीको सक्रियता बढेको छ । जसका कारण लागु औषधको व्यापार र सेवनमा कमी हुन आएको छ ।’’