गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को हिउँदे अधिवेशनअघि विपक्षी दलहरूले साझा धारणा तय गर्ने बताउनुभएको छ । माघ १८ बाट सुरु हुने हिउँदे अधिवेशनअघि विपक्षी दलहरूको बैठक बसेर सामूहिक ढङ्गबाट अघि बढ्ने उहाँको भनाइ छ ।
समाजवादी मोर्चाद्वारा मङ्गलबार आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभामा अध्यक्ष प्रचण्डले विशेष अधिवेशन बोलाउने चेतावनी दिएपछि मात्रै सरकारले संसद् आह्वान गरेको दाबी गर्नुभयो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नेपालका लागि हानिकारक हुने बताउनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुअघि बहसको आवश्यकता औँल्याउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भन्नुभयो, “प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली भयो भने के होला हालत ? अमेरिकामा अहिले भागाभाग छ । बोल्यो कि पोल्यो हुन्छ ।
देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नु पर्छ ।” कम्युनिस्ट पार्टी एक हुन पहिला विचार मिल्नुपर्ने धारणा राख्दै विचार नमिली र साझा सहमतिमा नपुगी भएको एकता काँचो हुने बताउनुभयो । एउटै पार्टी बनाउन नसके पनि समाजवादी मोर्चा बनाएर जाँदा पनि सफल हुन सकिने उहाँको दाबी छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चा ब्युँझेर आएको र अब सक्रिय रूपमा अगाडि बढ्ने बताउनुभयो ।