काठमाडौँ, माघ १५ गते । दक्षिण एसियाली विश्वविद्यालय ‘टी–२० जय नेपाल कप’ क्रिकेट प्रतियोगिताको उपाधि मध्यपश्चिम विश्वविद्यालयले जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको फाइनलमा मध्यपश्चिमले भारतको लखनउ विश्वविद्यालयलाई ५८ रनले हरायो । उपाधिसँगै मध्यपश्चिमले १५ लाख रुपियाँ र उपविजेता लखनउले १० लाख रुपियाँ पुरस्कार पायो ।
जितका लागि एक सय ७६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १७ रन मात्र बनाएको थियो ।
लखनउका लागि ओपनर ममन कन्डपालले सर्वाधिक ५८ रन बनाउनुभयो । हर्षवर्द्धन सिंहले १५ र यशवर्द्धन सिंहले १४ रन बनाउनुभयो ।
बलिङमा मध्यपश्चिमका लागि दिवानले तीन विकेट लिनुभयो । राजकुमार साहले दुई तथा रविन्द्र जंग शाही, सुवास भण्डारी र दीनेश अधिकारीले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो । मध्यपश्चिमका लागि दिवान पुन र विपिन खत्रीले अर्धशतक बनाउनुभयो ।
विपिनले अविजित ५९ रन बनाउनुभयो । अलराउण्ड प्रदर्शन गर्नुभएका दिवानले ५८ रन जोड्नुभयो । निश्चल रावलले १९ र राजकुमार साहले १५ रन बनाउनुभयो । बलिङमा लखनउका लागि हर्षवर्द्धन सिंह, ममन कन्डपाल र अभिषेक सोनीले एक एक विकेट लिनुभयो ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) को आयोजनामा माघ ७ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपालबाट काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय, भारतको दिल्ली विश्वविद्यालय, लखनउ विश्वविद्यालय र बाबासाहेब भीमराव विश्वविद्यालय तथा बङ्गलादेशको ढाका विश्वविद्यालयको सहभागिता रहेको थियो ।