काठमाडौँ, माघ १५ गते । रौतहटका रुपेश जैसवाल र सिन्दिरा जोशीले हेटौँडामा जारी २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अग्रता कायम राख्नुभएको छ ।
प्रतियोगिताको तेस्रो दिन मङ्गलबार पाँचौँ चरणका खेल सम्पन्न भएसँगै पुरुषतर्फ एफएम रुपेशले ४.५ अङ्क जोड्दै एक अङ्कको अग्रता बनाउनुभएको छ । रुपेशले तेस्रो दिन वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई हराउनुभयो ।
यस्तै मकवानपुरका क्षितिज भण्डारी र झापाका शुश्रुत दहालले समान ३.५ अङ्कसहित दोस्रो स्थानमा हुनुहुन्छ । एफएम क्षितिजले काठमाडौँका सिएम नवीन तण्डुकार र सिएम शुश्रुतले भक्तपुरका विनय थापालाई हराउनुभयो । तीन अङ्क जोड्नुभएका दोलखाका आशिष फुयाल, काठमाडौँका पुरुषोत्तम सिलवाल र एफएम रिजेन्द्र राजभण्डारी तेस्रो स्थानमा हुनुहुन्छ ।
यस्तै महिलातर्फ सिन्दिरा जोशीले ४.५ अङ्क जोड्दै शीर्षस्थानमा हुनुहुन्छ । राष्ट्रिय महिला विजेता सिन्दिरा चार जित र एक बराबर खेल्दै अपराजित हुनुहुन्छ । पहिलो हार खेपेकी काठमाडौँकी एञ्जल महर्जन र विनिता कपाली समान चार अङ्कसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
यस्तै ३.५ अङ्क जोड्न सफल बाँकेकी ईशा गिरी र मोरङकी शान्ति धिमाल संयुक्त तेस्रो स्थानमा हुनुहुन्छ । नेपाल बुद्धिचाल महासङ्घले आयोजना गरेको प्रतियोगितामा बुधबार थप दुई चरणको खेल हुनेछ ।