सिराज खान
नेपालगन्ज, माघ १५ गते । उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याेट गरेको जानकारी सार्वजनिक गरेको छ।
उक्त इजलासले आ.व. २०८१-०८२ को साउन महिनादेखि पुस महिनाको अवधिमा ८१० थान मुद्दा फर्छ्याेट गरेको जनाएको हो । उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले यस वर्षको ६ महिनाभित्र कुल ७६२ थान मुद्दा फर्छ्याेट गर्ने लक्ष्य राखेको थियो तर ४८ थान बढी, अर्थात् ८१० थान मुद्दा फर्छ्याेट गर्न सफल भएको छ ।
सो क्रममा कुल १ हजार ७६७ थान मुद्दा दर्ता भएका थिए, जसमा ९५७ थान मुद्दा बाँकी छन् । बाँकी रहेका मुद्दामा ७४१ थान छ महिनाभित्र, १६३ थान छ महिनादेखि एक वर्षभित्र, ४५ थान एक वर्षदेखि अठार महिनाभित्र र ८ थान अठार महिना नाघेका छन्। दुई वर्ष नाघेका मुद्दा कुनै पनि बाँकी छैनन्।
गत आ.व मा, यस अवधिमा ४७४ थान मुद्दा फर्छ्याेट भएका थिए र बाँकी रहेका मुद्दामा २१ थान दुई वर्ष नाघेका, ५५ थान अठार महिना नाघेका र १ हजार ४४५ थान एक वर्ष नाघेका थिए । नेपालगञ्ज उच्च अदालतमा लागु औषध र जबरजस्ती करणीका मुद्दा अत्यधिक रहेको जनाइएको छ। आगामी महिनामा एक वर्ष नाघेका सबै मुद्दा फर्छ्याेट गर्ने लक्ष्य राखिएको छ।
यसैगरी बॉके जिल्ला अदालतले ७३.७४५ प्रगति प्राप्त गरेको पाइएको छ । २ हजार २९७ थान मुद्दा फर्छ्याेट भएको छ र ३ हजार ९०० थान मुद्दा बाँकी छ। बाँकी मुद्दामा १३९ थान दुई वर्ष नाघेका र २७८ थान अठार महिना नाघेका छन्।
नेपालगन्ज उच्च अदालतका वरिष्ठतम न्यायाधीश चन्द्रबहादुर शारुले न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार अदालत, सरकारी वकिल, नागरिक समाज र अन्य सरोकारवालासँग समन्वय गरी छिटो र निष्पक्ष न्याय दिनेतर्फ जोड दिनुभयो ।