नवराज श्रेष्ठ
रामेछाप, माघ १५ गते । रामेछाप सदरमुकाम मन्थलीमा बुधबारदेखि ११ दिने रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी सुरु हुँदै छ । रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा माघ २६ गते शनिबारसम्म जिल्ला समन्वय समितिको प्राङ्गणमा मेला प्रदर्शनी हुन लागेको हो ।
जिल्लाको कृषि उत्पादन, घरेलु तथा साना उद्योगका उत्पादनसहित पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गरी आन्तरिक निर्यातलाई सुदृढ बनाउन गर्न लागिएको मेला प्रदर्शनीको तयारी अन्तिम चरणमा रहेको रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला÷नगर उपाध्यक्ष सुरकृष्ण वैद्यबाट मेला प्रदर्शनीको उद्घाटन हुनेछ ।
यो मेला प्रदर्शनीले जिल्लाको पर्यटकीय गतिविधिलाई वृद्धि गरी जिल्लाको आर्थिक उन्नतिमा पनि टेवा पुग्ने आयोजकले विश्वास लिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रामेछापमा धेरै कृषि, घरेलु तथा साना उद्योगका उत्पादनहरू छन् । यहाँ धेरै पर्यटकीय क्षेत्रहरू पनि छन् । यी सबैको प्रवर्द्धन गर्न अत्यावश्यक छ । यही कुरालाई ध्यानमा राखेर हामीले कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको आयोजना गरिएको हो ।”
११ दिनसम्म चल्ने मेला प्रदर्शनीबाट २५ लाख रुपियाँ आम्दानी हुने र सोही अनुसारको खर्च हुने आयोजकको अनुमान रहेको पनि उहाँले बताउनुभयो । मेला प्रदर्शनी सुरु भएको दिन माघ १६ देखि १९ गतेसम्म निःशुल्क अवलोकन गर्न सकिने र माघ १९ गतेदेखि २६ गतेसम्म भने दिउँसो ४ बजेपछि हुने सांस्कृतिक कार्यक्रममा भने टिकटको व्यवस्था गरिएको रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो “हामीले विगतका गुनासो तथा समस्यालाई मध्यनजर गर्दै यो पटक प्रदर्शनी स्थलको अध्ययन अवलोकनलाई हाइब्रिड मोडलमा गर्ने व्यवस्था मिलाएका छौँ । मेला प्रदर्शनी सुरु भएको दिन माघ १६ देखि १९ गतेसम्म सबैले निःशुल्क अबलोकन गर्न सक्नुहुन्छ । माघ १९ देखि २६ गतेसम्म भने दिउँसो ४ बजेपछि हुने सांस्कृतिक कार्यक्रमका लागि भने टिकटको व्यवस्था गरिएको छ ।”
मेला प्रदर्शनीमा ७५ वटाभन्दा बढी स्टलहरू रहने र स्थानीय कृषि, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई भने पालिकाहरूको सहयोगमा स्टल निःशुल्क प्रदान गरिने उहाँले बताउनुभयो ।
११ दिनसम्म चल्ने मेला प्रदर्शनीमा आफ्नो प्रस्तुति दिन चर्चित गायक, गायिकाहरु राजनराज सिवाकोटी, यलिना चौहान, रचना रिमाल, मिलन नेवार, दुर्गेश थापा मन्थली आउने रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नवीन घिमिरेले बताउनुभयो । कार्यक्रममा सरोज लामिछाने, शान्ति रानी परियार, प्रकाश कटुवाल, रामकुमार नेपाली, ज्योति मगर जस्ता चर्चित कलाकारहरुले प्रस्तुति दिने उहाँले बताउनुभयो ।