• १६ माघ २०८१, बुधबार

चौथो रामपुर महोत्सवको तयारी

blog

महोत्सवको तयारीको विषयमा जानकारी गराउँदै अध्यक्ष ढकाल । तस्विरः इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), माघ १४ गते । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको तयारी पूरा भएको छ । मंगलबारदेखि माघ २७ गतेसम्म रामपुर नगरपालिका –५ बेझाँडमा हुन गइरहेको मेलाको तयारी पूरा भएको आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । 

मेलाको पूर्वसन्ध्यामा पत्रकार भेटघाट गरी संघले सोमबार साँझ अन्तिम तयारीको बारेमा जानकारी गराएको थियो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेलाको तयारी सकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “महोत्सवको तयारीको अधिकांश काम सकिएको छ । बाँकी काम भोलि विहान सम्ममा सम्पन्न हुनेछ ।” 

चौथो संस्करणको मेला विशेषगरी कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारीकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवर्धन एवं प्रचार प्रसारसँगै उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यसाथ मेला सञ्चालन गर्न लागिएको ढकालले बताउनुभयो । 

“आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” नाराका साथ हुन लागेको मेलाको संरक्षकमा रामपुर नगरपालिका रहेको छ । ३ सय ५० भन्दा बढी व्यापारिक स्टलमध्ये मेलामा स्थानीय कृषिउपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्रथामिकतामा राखिने उहाँले बताउनुभयो । 

यस पटक मगर समुदाय, नेवार समुदाय, दरै समुदाय र चेपाङ समुदायको मौलिक खानाका लागि चार वटा स्टल रहने बताउनुभयो । विगतको तुलनामा मेलालाई थप परिस्कृत गरिएको अध्यक्ष ढकालले बताउनुभयो । 

संघले रामतुलसी माविको खेल मैदान बेझाँडमा १३ दिनसम्म सञ्चालन हुने मेलामा दुईदेखि तीन लाख दर्शक भित्र्याउने र एक करोड २० लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । मेलामा प्रतिष्ठित उद्योगबाट उत्पादित सामग्री तथा स्थानीय उत्पादनसहितको व्यापारिक स्टल, बाल उद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, हेलिकप्टर, प्याराग्लाइडिङ्गबाट दृश्य अवलोकन, अण्डर वाटर फिस टनेल, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसहित लोकदोहोरी प्रतियोगिता, रामपुरडान्स आईडल, ऐतिहासिक धार्मिक, एवं पर्यटकीय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहने संघले जनाएको छ । 

महोत्सव अवलोकनका लागि ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक,  फरक क्षमता भएका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । विद्यार्थी र ८० वर्षमुनिका ज्येष्ठ नागरिकलाई ५० रुपियाँ र अन्य नागरिकलाई एकसय रुपियाँ प्रवेश शुल्क तोकिएको छ ।