• ९ वैशाख २०८२, मङ्गलबार

वरिष्ठ अधिवक्ता खड्काको संसदीय सुनुवाइ माघ २० मा हुने

blog

सोमबार बसेको सङ्घीय सुनुवाइ समितिको बैठक । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, माघ १४ गते । न्याय परिषद्को सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाइ माघ २० गते हुने भएको छ ।

सङ्घीय सुनुवाइ समितिको बैठकले खड्काको सुनुवाइ माघ २० गते दिउँसो ३ बजे गर्ने निर्णय गरेको हो । नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्यमा नियुक्त गर्न खड्काको नाम पुस २७ गते सिफारिस गरेको थियो ।

उहाँविरुद्ध कुनै उजुरी प्राप्त नभएको समेत समितिले जनाएको छ । परिषद् सदस्य रहनुभएका रामप्रसाद श्रेष्ठको कार्यकाल गत मङ्सिर १५ गते सकिएपछि उक्त पद रिक्त थियो । रिक्त सदस्य पदमा सरकारले खड्कालाई सिफारिस गरेको थियो ।

पाँच सदस्यीय न्याय परिषद्को नेतृत्व प्रधानन्यायाधीशले गर्नुहुन्छ भने सदस्यहरुमा वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, नेपाल बार एशोसिएशनको तर्फबाट एक जना र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेका एकजना कानुनविद् सदस्य रहने व्यवस्था छ ।