• १५ माघ २०८१, मङ्गलबार

किशोरी मृत्यु प्रकरण : अछामका जनप्रतिनिधिद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

blog

दुई जना किशोरीको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखको ध्यानाकर्षण गराउनुहुँदै अछामका जनप्रतिनिधि । तस्बिर : रमेश रावत

रमेश रावत
अछाम, माघ १४ गते ।
अछामका जनप्रतिनिधिहरुले दुई जना किशोरीको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमबार बिहान गृहमन्त्री निवासमै पुगेर पूर्वमन्त्री तथा अछाम १ का सांसद शेरबहादुर कुँवर, अछाम २ का सांसद पुष्पबहादुर शाह र पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँहरूसँग मन्त्री लेखकले घटनाको सुरुवातदेखि नै आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको नगरप्रमुख चलाउनेले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाको छानबिनका लागि प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान थालेको छ ।

जिल्लाको ढकारी गाउँपालिका ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी शव फेला परेको थियो ।

शवको भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा पोस्टमार्टम भइरहेको छ ।

यस्तै, भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने अछामका पाँच जनाको परिवारलाई सरकारले राहत दिनुपर्ने विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीसमक्ष माग गर्नुभएको छ । साथै उहाँहरुले नेपालदेखि भारतमा काममा जाने मजदुरको बिमा गरिनुपर्ने धारणा राख्नुभयो ।