वीरेन्द्रनगर समाचारदाता
सुर्खेत, माघ १४ गते । कर्णाली प्रदेशका सामुदायिक विद्यालयका ८०४ वटा कक्षाकोठामा पाँच जनाभन्दा कम विद्यार्थी भएको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कर्णालीमा रहेका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम देखिएको हो ।
केन्द्रद्वारा आइतबार सुर्खेतमा आयोजना गरेको कार्यक्रममा केन्द्रका निर्देशक हरिप्रसाद अर्यालले माथिल्ला कक्षामा अझ विद्यार्थी सङ्ख्या कम देखिएको उल्लेख गर्नुभयो । कर्णालीमा दुई हजार ९८४ विद्यालय रहेका छन् । ती विद्यालयका ८०४ वटा कक्षाकोठामा पाँच जनाभन्दा कम विद्यार्थी रहेका छन् । यस्तै एक हजार ८३३ वटा कक्षाकोठामा १० जनाभन्दा कम विद्यार्थी रहेका छन् । १५ जनाभन्दा कम विद्यार्थी सङ्ख्या रहेको कक्षाकोठामा दुई हजार ४५८ रहेका छन् । दुई हजार ७६२ कोठामा २० जनाभन्दा कम विद्यार्थी सङ्ख्या रहेका छन् ।