गोरखापत्र समचारदाता
काठमाडौँ, माघ १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना र प्रविधिको क्षेत्रमा विश्वले ठुलो फड्को मारिसक्दा पनि हामी पुरानै कानुनमा अल्झिँदा मुलुकको समृद्धि र सुशासन कायम गर्न नसकिएको बताउनुभएको छ । आइतबार मन्त्रालयमा आयोजित ‘एक स्थानीय तह, एक हुलाक’ घोषणा कार्यव्रmमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पुराना ऐन र कानुनकै कारणले सञ्चार मन्त्रालयलगायत सरकारको काममा परिणाम देखिन ढिलाइ भएको स्पष्ट पार्नुभयो ।
मन्त्री गुरुङले भन्नुभयो, “हामीले काम गर्न नसेको यस्तै पुराना पुराना ऐन र कानुनले गर्दा हो, अब सूचना र प्रविधिमा संसार कहाँ पुगिसक्यो हामी चाहिँ पुरानै खुकुरीले लडाइँ जित्न सक्छौँ भनेर बसेका छौँ । पहिलेको बहादुरी सम्झेर अब चाहिँ विकास हुँदैन, पहिले संरचना बनाउने अनि नीति बनाउने काम गर्दा फेरि पनि हामी समस्यामा पर्न सक्छौँ ।” ड्रोनको लडाइँ सुरु भइसक्दा पनि नेपालीहरू भने खुकुरीले जितिन्छ भन्ने भ्रममा बसेका टिप्पणी मन्त्री गुरुङले गर्नुभयो । उहाँले सबै स्थानीय तहमा हुलाक सेवा पुग्नु आफैँ महत्वपूर्ण उपलब्धि भएको चर्चा गर्दै प्रभावकारी ढङ्गले काम गर्न मन्त्रालय अन्तर्गतका निकायलाई निर्देशन दिनुभयो ।
अबको पाँच वर्षभित्र सबै हुलाक कार्यालयको भौतिक संरचना बनाउने गरी काम गर्नसमेत उहाँले हुलाक सेवा विभागलाई आग्रह गर्नुभयो । यसअघिको सरकारले अव्यवस्थित रूपमा काम गरेको भन्दै वर्तमान सरकारले हरेक क्षेत्रका समस्या पहिचान गरेको र अब समस्या पहिचान गरिसकेपछि समाधान गर्न सहज हुने उहाँले बताउनुभयो । “अत्यावश्यक क्षेत्रलाई छिटोभन्दा छिटो सुधार गरी नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्नका लागि सरकारले अध्यादेश ल्याउनुपरेको हो, अध्यादेशले कतिपय कानुनी र प्रशासनिक झन्झटलाई फुकाउन सहज भूमिका खेल्ने छ ।” उहाँले भन्नुभयो ।
मन्त्री गुरुङले मुलुकको स्थायी सरकार कर्मचारीतन्त्र भए पनि कर्मचारीतन्त्रमा राजनीतीकरण भएकाले अहिले सरकारले ‘सिस्टम’ बनाउन लागेको बताउनुभयो । उहाँले हुलाक सेवाको क्षेत्रलाई राज्यले सधैँ उपेक्षा गरेको चर्चा गर्दै अब सरकारले हुलाक सेवालाई आधुनीकरण गर्दै प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्रकुमार ठाकुरले हुलाक सेवासामु धेरै चुनौती रहेको भन्दै अब फेरि पहिलाको जस्तै हुलाक सेवाले आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै जानुपर्नेमा जोड दिनुभयो ।
विभागले भएका स्रोत र साधनको अधिकतम प्रयोग गर्दै उच्चतम र प्रविधियुक्त सेवा विस्तार गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक सेवा स्थानीय तहसम्म पुगेर हुलाक सेवाको गरिमालाई बढाएको बताउनुभयो ।
देशभर गरी गोश्वारा हुलाक एक, हुलाक निर्देशनालय छ, जिल्ला हुलाक कार्यालय ७०, स्थानीय तहमा अवस्थित हुलाक कार्यालय ६७६ रहेका छन् । त्यस्तै अतिरिक्त हुलाक कार्यालय दुई हजार ५८९, हुलाक काउन्टर १०५ रहेको हुलाक सेवा विभागले जनाएको छ । सबै स्थानीय तहमा हुलाक सेवा पुगेसँगै अब स्थानीय तहमा रहेका हुलाक कार्यालयले सम्बन्धित स्थानीय तहसँग पनि समन्वय गरेर भौतिक र प्राविधिक क्षमताको विकास गर्दै जाने विभागले तयारी गरेको छ ।
विसं १९३५ मा नेपाल हुलाक घरको स्थापना भएको, १९३८ मा नेपाली हुलाक टिकटको पहिलो प्रकाशन गरिएको, २०१९ मा हुलाक सेवा ऐन र २०२० मा हुलाक नियमावली र २०२८ सालमा हुलाक सेवाको स्थापना भएको थियो ।
प्रविधिमूलक शिक्षामा जोड
यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विद्यार्थीलाई प्रविधि तथा सिपमूलक शिक्षा दिनुपर्नेमा जोड दिनुभएको छ । एसओएस हर्मन माइनर विद्यालय, सानोठिमीद्वारा आइतबार आयोजित साताव्यापी खेलकुद कार्यक्रमको उद्घाटन गर्दै आजको युग सुहाउँदो प्रविधिमूलक शिक्षा, सिप दिनुपर्ने बताउनुभएको हो । उहाँले अभिभावक र शिक्षकले विद्यार्थीहरूको रुचि र क्षमतालाई समयमै चिनेर शिक्षासँगै विद्यार्थीको रुचि अनुसारको तालिम, सिप र नयाँ प्रविधिसँग पनि परिचित खेलकुदलगायत विविध क्षेत्रमा अगाडि बढ्ने अवसर र वातावरण बनाउनुपर्ने बताउनुभयो ।
मन्त्री गुरुङले आजको युग भनेको प्रविधिको युग भएकाले सरकारले शिक्षा, प्रविधिलगायत विविध विषयसँग सम्बन्धित पुराना नीतिको संशोधन र नयाँ नीति बनाउन जोड दिएको बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले खेलकुदले मानिसलाई अनुशासित, सक्रिय र मानसिक विकासमा पनि मद्दत पुग्ने बताउँदै सानोठिमीस्थित एसओएस हर्मन माइनर विद्यालयले शिक्षासँगै खेलकुदलाई आफ्नो वार्षिक क्यालेन्डरमै समावेश गरेर सिकाउने सराहनीय काम भएको बताउनुभयो ।
एसओएस हर्मन माइनर बालग्रामका राष्ट्रिय निर्देशक गङ्गाबहादुर गुरुङले देशभरका बालग्राममा ५२ वटा परियोजना अन्तर्गत २० हजार जना बालबालिकालाई सेवा दिइरहेको बताउनुभयो । बालग्रामका प्रधान अध्यापक रञ्जना बजगाईंले अनाथ बालबालिकाका साथै अन्य विद्यार्थीहरू पनि पढ्ने यस स्कुलका लागि बाहिरी सहयोग पूरै बन्द भएकाले गुणस्तरीय शिक्षा दिन निक्कै सकस भइरहेको बताउनुभयो ।
सो अवसरमा उक्त विद्यालय पढेर एमबिबिएसको निःशुल्क अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेका छात्रहरूलाई सम्मान गरिएको थियो । त्यसै गरी खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छात्रछात्रालाई पनि पदक प्रदान गरिएको थियो ।