गजेन्द्र गुरुङ
खजुरा, माघ १३ गते । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विभिन्न कारणबाट हुँदैआएको राजस्व चुहावटलाई निरुत्साहित पार्न निजी क्षेत्र पनि लाग्नुपर्ने बताउनुभएको छ ।
७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसर पारेर नेपालगन्ज भन्सार कार्यालयले आइतबार नेपालगन्जमा आयोजना गरेको एक कार्यक्रममा प्रजिअ रिजालले भन्नुभयो, “राजस्व सङ्कलनको प्रमुख स्रोतका रुपमा भन्सार रहेको छ, विभिन्न कारणबाट राजस्व चुहावट हुँदै आएको गुनासाहरु आएका छन् ।”
उहाँले भन्नुभयो, “राजस्व चुहावटलाई निरुत्साहित पार्न र नियन्त्रणका लागि निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुन्छ, राजस्व चुहावट रोक्नका लागि निजी क्षेत्र पनि लाग्नुपर्छ ।”
बाँकेस्थित नेपाल–भारत ६५ किलोमिटर खुला सीमाका कारण पूर्णरुपमा राजस्व चुहावट रोक्नका लागि समस्या हुने गरेको भन्दै उहाँले भन्नुभयो, “भारत–नेपालको बाँकेसँग सिमाना जोडिएको ६५ किलोमिटर लामो खुला सीमा छ, भन्सार कार्यालय एउटा मात्र छ, तस्करी र राजस्व चुहावट रोक्नका लागि सशस्त्र प्रहरीले पनि प्रयास गरिरहेको छ ।”
उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी र भन्सारको आँखा छलेर हुने गरेको राजस्व चुहावट प्रमुख चुनौतीका रुपमा रहेको छ, राजस्व चुहावट रोक्नका लागि सम्पूर्ण सरोकारवालाहरु लाग्नुपर्छ ।” भन्सारबाट हुँदैआएको राजस्व सङ्कलनको सुधार प्रमुख चुनौतीका रुपमा रहेको भन्दै उहाँले कर्मचारीले इमान्दारीताका साथ काम गर्नुपर्ने र सेवाग्राहीले पनि इमान्दारीतासाथ कर बुझाउनुपर्ने बताउनुभयो ।
“भन्सार चुहावट नियन्त्रणका लागि दुई पक्षीय (भारत र नोपल भन्सार कार्यालय) पहल हुनु जरुरी छ, भारतीय भन्सारले कडाइ गरिरहेको छ, चुहावटलाई नियन्त्रण गर्नका लागि भारतीय पक्षको पनि महत्वपूर्ण भूमिका हुन्छ” उहाँले भन्नुभयो ।
भन्सार सुधारका लागि पद्यति बनाउनुपर्ने, कार्यान्वयन गर्ने निकायको विश्वास पनि गर्नुपर्ने, गल्ती गर्ने र दुरुपयोग गर्नेलाई कडा कारबाही समेत गरेर पद्यतिको विकास गर्न जरुरी रहेको उहाँले बताउनुभयो । सेवाग्राही, कर्मचारी तथा सरोकारवाला सबै निकाय देश र जनताप्रति जवाफदेही हुनुपर्ने भन्दै उहाँले देशले आर्थिक रुपमा फड्को मार्न सके सबै नेपालीको आर्थिक उन्नति हुने उहाँले बताउनुभयो ।
प्रजिअ रिजालले भन्सार छली, चोरी, निकासी, तस्करी अपराध हो भन्ने कुरालाई समाजमा व्यापक रुपमा जनचेतना समेत जगाउनुपर्ने धारणा राख्नुभयो । उहाँले कुनै समस्याहरु यहाँको लेवलबाट समाधान गर्न नसकिने भन्दै नीतिगत तहबाटै प्रयास गरिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा भारतीय कस्टमका डिपुटी कमिशनर नन्देश्वर सिंहले सामानहरु नेपाल–भारत आयात निर्यात हुँदा भारतीय पक्षबाट कहीँ पनि अप्ठ्यारो हुनेगरी काम नगरेको बताउनुभयो । उहाँले सीमा नाकामा हुने भन्सार चुहावटलाई नियन्त्रण गर्न आफ्नो पक्षबाट सधैँभरी सहयोग हुने बताउनुभयो ।
“नेपाल र भारतबिच सामानहरु आयात निर्यात हुँदा केही समस्याहरु देखिएका छन्, ती समस्यालाई समाधान गर्नका लागि आउने महिना नेपालगन्ज भन्सार कार्यालयमै बैठक राख्दैछौँ, कार्यान्वयनमा देखिएका सानातिना समस्यालाई मध्येनजर गर्दै समाधान गर्ने पहल गर्नेछौँ” उहाँले भन्नुभयो, “नेपाल–भारत दुबैतिरका बोर्डर क्षेत्रमा जति पनि एजेन्सीहरुले काम गरिरहेका छन्, सबै चनाखो र सतर्क हुनुपर्छ, कुनै समस्या आइपरेमा दुई देशका अधिकारी बसेर समाधान गर्ने प्रयास गर्नेछौँ ।”
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले भन्सार सुधारका लागि कार्यालय हरदम लागिरहेको भन्दै सरोकारवाला सबै निकायहरुको सहयोगमा मात्र पूर्णरुपमा भन्सार सुधारका काम गर्न सकिने बताउनुभयो । उहाँले भन्सारमा विभिन्न समस्याहरु आइरहने भन्दै ती समस्याको समाधानका लागि पहल गर्दै आर्थिक उन्नति र समृद्धिका लागि कार्यालय सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।