• १७ माघ २०८१, बिहिबार

समृद्ध दैलेखको गुरुयोजना निर्माण

blog

दैलेख समाचारदाता

दैलेख, माघ १३ गते  । स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गरी जिल्लाको आर्थिक, सामाजिक र पूर्वाधार विकासमार्फत दैलेख जिल्लालाई नमुना बनाउने उद्देश्यले समृद्ध दैलेख गुरुयोजना निर्माण गरिएको छ । शनिबार दैलेख सदरमुकाममा आयोजना गरिएको सभाबाट आएका सुझावलाई समेटेर गुरुयोजना निर्माण गरिएको हो । 

जिल्ला समन्वय समिति दैलेखले गुरुयोजनामा तत्कालीन, मध्यकालीन र दीर्घकालीन विकास योजनाको पहिचान, प्रथामिकीकरण, बजेट सुनिश्चितता, पूर्वाधार निर्माण, दिगो विकासका लागि टुक्रे योजना निरुत्साहन, योजनामा दोहोरोपना हुन नदिन समृद्ध दैलेख गुरुयोजना निर्माण गरिएको जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले जिल्लाको विकासमा एकरूपता ल्याउने, गुणस्तरीय विकास गर्ने, योजनाको दोहोरोपना हटाएर एकद्वार प्रणालीबाट योजना छनोट गर्न, योजनाको आवश्यकताका आधारमा पहिचान, प्राथमिकता दिएर बजेट सुनिश्चित गर्ने उद्देश्यले दैलेखको गुरुयोजना निर्माण गरिएको बताउनुभयो । उहाँले जिल्लाको शिक्षा, स्वास्थ्य, खानेपानी योजना, पूर्वाधार, सडक, विद्युत्लगायतका योजनालाई एक, दुई, पाँच, १० र १५ बर्सेसम्म योजना बनाएर समृद्ध दैलेखको गुरुयोजना महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । 

दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले दैलेख समृद्धको गुरुयोजना निर्माणपश्चात् यहाँको विकास र समृद्धिको यात्रा अगाडि बढ्ने बताउनुभयो । उहाँले स्थानीय तह, पालिकास्तरीय र जिल्लास्तरीय योजनाको पहिचान र प्राथमिकता दिएर बजेटको सुनिश्चित गर्नतर्फ सबै सरोकारवाला निकायले अपनत्व लिन सक्ने बताउनुभयो । 

जिल्लास्तरीय  १५ शय्याको अस्पताल स्तरोन्नति गरी पाँच वर्षभित्र ५० र १० वर्षमा सय शय्या, १५ वर्षभित्र दुई सय शय्याको अत्याधुनिक अस्पताल बनाउने योजना रहको छ । यसै गरी १५ शय्याको दुल्लु अस्पताललाई पाँच वर्षभित्र ५० शय्या, १० वर्षभित्र सय शय्या र १५ वर्षभित्र १५० शय्याको बनाउने लक्ष्य लिइएको छ । यस्तै अन्य पालिकामा पनि यस्तै योजना बनाइएको छ । 

यस्तै गुरुयोजनामा शिक्षातर्फ सबै पालिकामा क्याम्पस र माध्यमिक विद्यालयलाई पाँच वर्षभित्र डिजिटल सिकाइ केन्द्रका रूपमा विकास गर्ने जिल्लाका माध्यमिक विद्यालयको पाँच वर्षभित्र भौतिक संरचना निर्माण गर्ने, सबै पालिकामा पाँच वर्षमा क्याम्पस स्थापना गर्ने, सङ्गीत विद्यालय सञ्चालन गर्ने, लोपोन्मुख राउटे समुदायको मातृ भाषाको संरक्षण र प्रवर्धन गर्न तीन वर्षभित्र गुराँस गाउँपालिकामा राउटे भाषा स्कुल सञ्चालन गर्ने गुरुयोजनामा समावेश गरिएको छ । 

सभामा सङ्घीय संसद्को प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, सङ्घीय सरकारका पूर्वकानुनमन्त्री गोविन्द बन्दी, कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहको कार्यक्रममा उपस्थिथि रहेको थियो । 

भौतिक पूर्वाधार राज्यमन्त्री गमता विक, कर्णाली प्रदेश सामाजिक विकास समितिका सभापति पूर्ण खत्रीलगायतका नेताले जिल्लाको विकासको मोडल तयार पारिएको भए पनि त्यसलाई निर्माण गर्न बजेट सुनिश्चित गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुखले योजना बनाए पनि सबै कुरा स्थानीय तहसँग जोडिएर आउने भएका कारण स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने र त्यसलाई जिल्लाबाट निर्वाचित सांसद, मन्त्रीहरूले निर्वाचन क्षेत्र नहेरेर आवश्यक सहयोग गर्नुपर्ने सुझाव दिएका छन् ।