प्रतीक शर्मा ‘इच्छुक’
सल्यान, माघ १२ गते । नेपाल निजामती कर्मचारी संगठन सल्यानको अध्यक्षमा डिल्लीबहादुर घर्ती निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट कर्मचारी संगठनको सल्यान सदरमुकाम खलङ्गामा सम्पन्न १२ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
संगठनको उपाध्यक्षद्वयमा निरज परियार र सूलोचना महर्जन, सचिव पदमा दिपक बुढाथोकी, सह–सचिवमा यज्ञबहादुर खत्री र कोषाध्यक्षमा महेन्द्र के.सी. रहनुभएको छ । समिति सदस्यहरुमा गोविन्द खडका, विजय रेग्मी, रामबहादुर बुढाथोकी, अमृता सिंह, तिर्सना रेउले, रमा भट्टराई, टेकबहादुर घर्ती, सुरज वि.क., सञ्जीव शर्मा, रणबहादुर थापा, महेन्द्रबहादुर खडका र टेकनाथ योगी रहनुभएको छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा देवीराम सुवेदी, खिमप्रकाश राना र अन्तिममाकुमारी यादवलाई चयन गरेको छ, प्रदेश प्रतिनिधिमा ध्रुवबहादुर खत्री, कमला घर्ती, प्रकाश न्यौपाने र पदम महत छनौट भएको जिल्ला सचिव दिपक वुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लेखापरीक्षण आयोगको संयोजकमा गणेश शर्मा भण्डारी चयन हुनुभयो भने सदस्यमा झलक वली र एकलाल राना रहेका छन् । नयाँ गठन भएको कार्यसमितिले संगठनको हक, अधिकार र सुधारका लागि तथा निजामती कर्मचारीको हित संरक्षण र संस्थागत विकासका लागि सक्रियताका साथ काम गर्ने प्रतिवद्धता जनाएको छ ।
अधिवेशन उदघाटन कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रिय सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज गोविन्दकुमार पुन, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, सल्यान जिल्ला अध्यक्ष भिमबहादुर सेनसहित पदाधिकारीहरु, संगठनका सल्यान जिल्ला इन्चार्ज प्रकाश अधिकारी लगायतले मन्तव्य राख्दै नागरिकको सेवालाई प्राथमिकतामा राखेर संगठनलाई मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो ।