• १४ माघ २०८१, सोमबार

योजना निर्माणमा तथ्याङ्क

blog

गीता पौड्याल अधिकारी 

विकास एउटा बहुआयामिक प्रक्रिया हो । जसले समाज, राष्ट्र वा कुनै पनि क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, सांस्कृतिक र पर्यावरणीय अवस्थामा सुधार ल्याउँछ । यसको उद्देश्य जनताको जीवनस्तरमा सुधार गर्नु, नयाँ अवसरहरूको सिर्जना गर्नु र भविष्यका चुनौतीको सामना गर्न सक्षम बनाउनु हो । 

विकास भनेको केवल पूर्वाधार र आर्थिक वृद्धि मात्र होइन, सामाजिक समावेशिता, न्याय, र वातावरणीय दिगोपनालाई पनि समेट्ने प्रक्रिया हो । विकासका प्रमुख तत्वहरूमा शिक्षा, स्वास्थ्य, समानता, समावेशिता, प्रविधि, नवप्रवर्तन, पूर्वाधार र सेवाहरू पर्दछन् । यी तत्वहरूको प्रभावकारी कार्यान्वयनका लागि मानव पुँजीमा लगानी हुनु अत्यावश्यक छ, जुन नीति तथा योजनाहरूको माध्यमबाट सम्भव हुन्छ । विकास एक गतिशील प्रक्रिया भएकाले समय र स्थानअनुसार यसका प्राथमिकता र स्वरूपहरू फरक हुन सक्छन् । यसको प्रभावकारीता सुनिश्चित गर्न स्रोतहरूको व्यवस्थापन, दिगोपना कायम राख्ने रणनीति, र समावेशी योजनाहरूको आवश्यकता पर्दछ । 

विकासको प्रगति र उपलब्धिलाई मापन गर्न जिडिपी, मानव विकास सूचकाङ्क, गरिबी तथा समानता सूचक, र वातावरणीय स्थायित्वजस्ता परिमाणात्मक तथा गुणात्मक सूचकहरूको प्रयोग गरिन्छ । त्यसैले, विकास योजना र स्रोतको न्यायपूर्ण परिचालन गर्दै दिगो समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने प्रमुख साधन हो ।

विकास एउटा व्यापक प्रक्रिया हो जसले समाजका हरेक पक्षलाई समेट्छ । यो प्रक्रिया सफल बनाउन मानव पुँजीमा लगानी, प्रविधिको उपयोग, र समावेशी योजनाको आवश्यकता पर्दछ । विकासले योजनागत रुपमा  स्रोतहरूको न्यायपूर्ण वितरण र वातावरणीय दिगोपनाको सुनिश्चितता गर्दै समाजलाई दीर्घकालीन समृद्धितर्फ अगाडि बढाउने महत्वपूर्ण साधनको  रुपमा काम गर्छ । 

योजना कुनै निश्चित उद्देश्य वा लक्ष्य प्राप्त गर्न बनाइने मार्गनिर्देशन नीति हो । यसले उद्देश्य प्राप्त गर्न आवश्यक स्रोत साधनको उचित व्यवस्थापन, कार्यहरूको चरणबद्ध कार्यान्वयन, समयसीमा र जिम्मेवारीको स्पष्ट परिभाषा प्रदान गर्दछ । योजना सामान्यतया विशिष्ट कार्यक्रमको कार्यान्वयनका लागि तोकिएको समयसीमाभित्र बनाइन्छ । देशको विकास प्रक्रिया अघि बढाउन अल्पकालीन, मध्यकालीन, आवधिक, रणनीतिक, र दीर्घकालीन योजनाहरू आवश्यक हुन्छ । नीति भने दीर्घकालीन र स्थिर हुने भएकाले यसले योजनाको मूल मार्गदर्शन प्रदान गर्दछ । उदाहरणका लागि, दिगो विकासका १७ वटा लक्ष्यहरू हासिल गर्न नीतिहरूको तर्जुमा गरिएको छ ।

योजनाको उद्देश्य

योजनाको मुख्य उद्देश्य राष्ट्रको दिगो, न्यायसङ्गत र समावेशी विकास सुनिश्चित गर्नु हो । यसले आर्थिक वृद्धि, सामाजिक समानता, र वातावरणीय दिगोपनालाई सन्तुलित रूपमा अगाडि बढाउन मार्गनिर्देशन दिन्छ । योजना केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नभई शिक्षा, स्वास्थ्य, र प्रविधिको प्रगतिमा पनि आधारित हुन्छ ।

विकास योजना

समग्र विकास योजना भन्नाले कुनै क्षेत्र वा राष्ट्रको आर्थिक, सामाजिक र भौतिक पक्षलाई एकीकृत रूपमा सम्बोधन गर्ने योजना हो । यसले स्रोतहरूको न्यायपूर्ण वितरण, अवसरहरूको सिर्जना, र समाजका सबै क्षेत्रहरूको समावेशी विकास सुनिश्चित गर्न मद्दत गर्दछ ।

योजना निर्माण प्रक्रिया

विकास योजना निर्माणका लागि प्रक्रिया स्पष्ट र चरणबद्ध हुनुपर्छ । पहिलो चरणमा सही र विश्वसनीय तथ्याङ्क सङ्कलन गरी समस्या र चुनौतीहरूको पहिचान गरिन्छ । दोस्रो चरणमा, यी चुनौतीहरूको आधारमा अवसरको खोजीगरी प्राथमिकता निर्धारण गरिन्छ । तेस्रो चरणमा, उद्देश्य र लक्ष्यहरू स्पष्ट रूपमा परिभाषित गरी त्यसका लागि आवश्यक रणनीतिहरू तयार गरिन्छ । चौथो चरणमा, योजनाको कार्यान्वयन प्रक्रिया तोकिएको समय सीमाभित्र गर्न निगरानी र मूल्याङ्कन प्रणालीलाई समावेश गरिन्छ ।

विकासका आधारभूत विशेषता

कुनै पनि प्रभावकारी विकास योजनामा स्पष्ट उद्देश्य, समावेशिता, दिगोपना, र समयसीमा तोकिएको हुनुपर्छ । योजनाले समाजका सबै वर्ग र क्षेत्रलाई समेट्नु पर्छ, जसले समावेशी विकासको सुनिश्चित्ता प्रदान गर्छ । साथै, योजनामा वातावरणीय र सामाजिक परिवर्तनअनुसार लचिलोपन हुनुपर्छ । योजना कार्यान्वयनका लागि समयसीमित कार्यक्रम र मूल्याङ्कन प्रणालीको उपस्थिति अपरिहार्य छ ।

तथ्याङ्कको महत्त्व

तथ्याङ्क योजना र नीति निर्माणको आधारशिला हो । विश्वसनीय तथ्याङ्कले समस्या र चुनौतीको यथार्थ चित्र प्रस्तुत गर्न मद्दत गर्दछ । तथ्याङ्कको प्रयोगले नीति निर्मातालाई सही दिशा र प्राथमिकता निर्धारण गर्न सहयोग गर्छ । आजको समयमा, तथ्याङ्क नीति निर्माणको सबैभन्दा शक्तिशाली उपकरण हो, जसले समाजका विभिन्न पक्षहरूको गहन अध्ययन गरी प्रभावकारी निर्णय लिन मार्गदर्शन गर्दछ ।

तथ्याङ्कको अभावमा बनाइएका नीति तथा योजनाहरू प्रायः गलत दिशामा जान सक्छन्, जसले विकास प्रक्रियामा अवरोध सिर्जना गर्न सक्छ । त्यसैले, सही तथ्याङ्कको प्रयोग गरी दिगो, समावेशी र न्यायसङ्गत विकासका लागि योजना निर्माण गर्नु अत्यन्त जरुरी छ । योजना केवल उद्देश्य प्राप्त गर्न साधन मात्र नभई, समाजको समग्र रूपान्तरण र दीर्घकालीन समृद्धिका लागि मार्गदर्शक पनि हो ।

तथ्याङ्क प्रयोग गर्दा केही सावधानी भने अपनाउनु पर्छ । पहिलो कुरा, तथ्याङ्क सङ्कलन र प्रयोग गर्दा गोपनीयता र सुरक्षा प्रोटोकललाई ध्यान दिनु आवश्यक छ । तथ्याङ्कको अनुचित प्रयोगले व्यक्तिहरूको गोपनीयता उल्लङ्घन गर्न सक्छ । यसले समाजमा नकारात्मक असर पार्न सक्छ । त्यसैले, तथ्याङ्कको सुरक्षा सुनिश्चित गर्न प्राविधिक मापदण्ड र नीति–नियमहरू अपनाउनु पर्छ ।

दोस्रो, तथ्याङ्कलाई नागरिकसम्म पहुँचयोग्य बनाउँदै पारदर्शिता कायम राख्नुपर्छ ताकि नीति निर्माणमा नागरिकको सक्रिय सहभागिता सुनिश्चित होस् । नागरिकलाई जानकारी दिने र उनीहरूको सहभागितालाई प्रोत्साहन गर्ने प्रक्रियाले नीति र योजनालाई थप प्रभावकारी र व्यावहारिक बनाउन मद्दत गर्छ । पारदर्शिता अभावले नीति निर्माणमा नागरिकको विश्वास घटाउन सक्छ, जसले दीर्घकालीन विकासमा बाधा गर्छ । तेस्रो, तथ्याङ्कमा गुणस्तरको कमी भएमा नीति र योजना निर्माणमा समस्या हुन सक्छ । सही, अद्यावधिक, र प्रामाणिक तथ्याङ्कको उपलब्धताले मात्र निर्णय प्रक्रियालाई बलियो बनाउँछ । तथ्याङ्क सङ्कलन र विश्लेषण प्रणाली नीति र योजना निर्माणको अनिवार्य साधन हो । यसले समाजका विभिन्न पक्षहरूको प्रभावकारी उपयोग गर्न र दीर्घकालीन तथा दिगो योजना बनाउन मद्दत गर्दछ ।

जब नीति तथा योजना निर्माण गरिन्छ, त्यसको सफलता कार्यान्वयन प्रभावकारितामा निर्भर हुन्छ । नीति निर्माणको पहिलो चरण समस्या पहिचान गर्नु हो । यसमा तथ्याङ्कको प्रयोगले ठोस आधार तयार गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । सही तथ्याङ्कले समाजमा रहेका असमानता र चुनौतीहरूको विश्लेषण गरी प्रभावकारी समाधान निकाल्न सहयोग गर्छ । यसैले, तथ्याङ्क प्रयोग गर्दा नियम, मापदण्ड, र सावधानी अपनाउनुपर्ने महत्त्व झन बढेको छ ।

तथ्याङ्क कुनै पनि नीति तथा योजना निर्माणको मूल आधार हो । तथ्याङ्कको प्रयोगले समाजका विभिन्न पक्षहरुको अध्ययन गरी प्रभावकारी निर्णय लिन र दीर्घकालीन तथा दिगो योजनाहरु बनाउन महत्त्वपूर्ण योगदान गर्छ । तथ्याङ्कको अभावमा नीति निर्माण केवल अनुमानमा आधारित हुन्छ । जसले निर्णय प्रक्रियामा कमजोरी उत्पन्न गराउँछ । समाजका समस्या, चुनौती, र आवश्यकताको पहिचानका लागि तथ्याङ्क अपरिहार्य उपकरण हो ।

बुझाइको खाडल

तथ्याङ्कबिना समाजको अवस्था, आवश्यकताहरू र सम्भावनाको सटीक मूल्याङ्कन गर्न सकिँदैन । यसले नीतिहरूलाई वास्तविकता नजिक ल्याउँछ । तथ्याङ्कको अभावमा नीति निर्माण र योजना तर्जुमा केवल अनुमान र भ्रममा आधारित हुन सक्छ । यस्तो अवस्थामा, स्रोत साधनको अनावश्यक खपत र समाजका प्राथमिक क्षेत्रहरूको उपेक्षा हुने सम्भावना उच्च हुन्छ ।

तथ्याङ्क उपयोग गर्ने तरिका

तथ्याङ्कलाई प्रभावकारी रूपमा उपयोग गर्नका लागि सावधानी अपनाउनु पर्छ ।  गोपनीयता र सुरक्षाः तथ्याङ्क सङ्कलन र प्रयोग गर्दा व्यक्तिगत गोपनीयता र सुरक्षाको पूर्ण ध्यान दिनुपर्छ । पारदर्शिताः तथ्याङ्क नागरिकसम्म सहज पहुँचयोग्य बनाउन पारदर्शिता कायम राख्नुपर्छ, जसले नीति निर्माणमा नागरिकको सहभागिता सुनिश्चित गर्छ । गुणस्तरीयताः तथ्याङ्क अद्यावधिक र सटीक हुनुपर्छ । गुणस्तरहीन तथ्याङ्कले नीति निर्माण प्रक्रियामा समस्या  सिर्जना गर्न सक्छ ।

सही तथ्याङ्क प्रयोग गरेर समस्या पहिचान गर्न, स्रोतको उचित वितरण गर्न, र प्राथमिकता निर्धारण गर्न सहज हुन्छ । कुन भूगोलमा पूर्वाधार निर्माण गर्नुपर्छ, मानव पुँजीमा लगानी कुन उमेर समूहमा केन्द्रित गर्नुपर्छ, र कुन क्षेत्रलाई विशेष स्रोतको आवश्यकता छ भन्ने जानकारी तथ्याङ्कले दिन्छ ।

तथ्याङ्कको भूमिका

तथ्याङ्कले नीति निर्मातालाई समाजका विभिन्न वर्गहरू र समूहहरूको आवश्यकता र चासो पहिचान गर्न सघाउँछ । उदाहरणका लागि जनसङ्ख्याको स्वरूप र संरचना, शिक्षाको स्तर, स्वास्थ्य अवस्थाजस्ता तथ्याङ्कले नीति निर्माणलाई यथार्थपरक बनाउँछ । तथ्याङ्कको प्रयोगले भविष्यका सम्भावित समस्याजस्तै सहरीकरण, वातावरणीय जोखिम, र बेरोजगारीको पूर्वानुमान गर्न मद्दत गर्छ, जसले पूर्व तयारी गर्न सघाउँछ ।

तथ्याङ्क नीति निर्माण र योजना तर्जुमा मात्र नभई यसको प्रभावकारी कार्यान्वयन र मूल्याङ्कनका लागि पनि आवश्यक हुन्छ । यो कुनै पनि नीति निर्माताका लागि यस्तो मार्गदर्शक हो, जसले निर्णयलाई सही दिशा दिन्छ । तथ्याङ्कको सही र जिम्मेवार प्रयोगले मात्र समाजका वास्तविक आवश्यकता र प्राथमिकतासँग मेल खाने नीति र योजना बनाउन सकिन्छ । दिगो विकास र समाजको समग्र प्रगतिका लागि तथ्याङ्कको महत्त्वपूर्ण भूमिका स्वीकार्नु पर्छ ।

उपयोगिता र थप व्याख्या

तथ्याङ्क कुनै पनि देशको आर्थिक, सामाजिक, र वातावरणीय विकासका लागि एक आधारभूत साधन हो । यसले देशको वर्तमान अवस्था, चुनौती, र अवसरको स्पष्ट चित्रण प्रदान गर्छ । नीति निर्माण र योजना तर्जुमा गर्दा तथ्याङ्कलाई उपयोग गरेर विकासका सही प्राथमिकता निर्धारण गर्न सकिन्छ ।

तथ्याङ्कले स्रोत साधनहरूको अधिकतम उपयोग सुनिश्चित गर्छ । उदाहरणका लागि, यदि कुनै क्षेत्रमा बेरोजगारीको दर उच्च छ भने त्यस क्षेत्रमा रोजगारी सिर्जना गर्ने कार्यक्रम लागु गर्न सकिन्छ । यस्तै, बाल मृत्युदर उच्च भएका स्थानमा स्वास्थ्य सेवा सुधार गर्न विशेष स्रोत परिचालन गर्न सकिन्छ । यसरी तथ्याङ्कले सीमित स्रोत साधनलाई सही स्थान र उद्देश्यमा उपयोग गर्न मद्दत गर्छ । 

तथ्याङ्कबिना विकास अपूर्ण 

तथ्याङ्कबिना कुनै पनि समस्या वा चुनौतीको वास्तविकता पहिचान गर्न कठिन हुन्छ । तथ्याङ्कको अभावमा नीति निर्माण केवल अनुमानमा आधारित हुन्छ । स्रोत साधनको अनावश्यक दुरुपयोग हुन सक्छ । प्राथमिकता निर्धारण गर्दा महत्त्वपूर्ण क्षेत्रहरू उपेक्षित हुन सक्छन् । योजनाको प्रभावकारिता मूल्याङ्कन गर्न कठिन हुन्छ । उदाहरणका लागि, शिक्षा क्षेत्रमा सुधारका लागि नीति निर्माण गर्दा विद्यालयमा भर्ना दर, शिक्षक र विद्यार्थी अनुपात, परीक्षा नतिजा, र झरेका विद्यार्थीको तथ्याङ्कबिना सही निर्णय लिन सकिँदैन ।

तथ्याङ्कले दिने सङ्केत

तथ्याङ्कले नीतिगत निर्णयहरूको प्रभावकारिता र नतिजा मापन गर्न मद्दत गर्छ । उदाहरणका लागि, कुनै योजना कार्यान्वयन भएपछि त्यसको प्रभाव मूल्याङ्कन गर्न तथ्याङ्क अपरिहार्य हुन्छ । योजना सफल भएको होकि असफल भएको हो भन्ने जानकारी तथ्याङ्कको विश्लेषणबाट मात्र प्राप्त हुन्छ ।

तथ्याङ्क भनेको योजना र नीति निर्माणमा एक बलियो आधार हो । यो केवल निर्णयको माध्यम मात्र नभइ भविष्यको मार्गचित्र हो । सही, अद्यावधिक, र पारदर्शी तथ्याङ्कको उपयोगले मात्र दिगो विकासका लक्ष्यहरू हासिल गर्न सकिन्छ । त्यसैले, तथ्याङ्कको उपयोगितालाई नीतिगत निर्णय प्रक्रियामा प्राथमिकता दिनुपर्छ । यसले मात्र देशको समग्र विकास र जनताको जीवनस्तर सुधार गर्न सकिन्छ ।

योजना वर्षमा 

पहिलो– २०१३–१८ (५ वर्ष), दोस्रो २०१९–२२ (३ वर्षे), तेस्रो २०२२–२७ (५ वर्षे), चौथो २०२७–३२ (५ वर्षे), पाँचौ २०३२–३७ (५ वर्षे), छैटौं २०३७–४२ (५ वर्षे), सातौं २०४२–४७ (५ वर्षे), आठौं २०४९–४५ (५ वर्षे), नवौं २०४५–५९ (५ वर्षे), दशौं २०५९–६४ (५ वर्षे), एघारौ २०६४–६७ (३ वर्षे),  बाह्रौ २०६७–७० (३ वर्षे), तेह्रौं २०७०–७३ (३ वर्षे), चौधौं २०७३–७६ (३ वर्षे), पन्ध्रौं २०७६–८१ (५ वर्षे)                    

सोह्रौ योजनाका दीर्घकालीन लक्ष्य

सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तर आबद्धता । परिष्कृत तथा मर्यादित जीवन ।  मानव पुँजी निर्माण तथा सम्भावनको पूर्ण उपयोग । सुरक्षित, सभ्य र न्यायपूर्ण समाज ।  उच्च र दिगो उत्पादन तथा उत्पादन तथा उत्पादकत्व । स्वस्थ र सन्तुलित पर्यावरण । उच्च र समतामूलक राष्ट्रिय आय । सुशासन । सबल लोकतन्त्र । राष्ट्रिय एकता, सुरक्षा र सम्मान । 

सुधारको प्रयास

१६ औं योजना २०८१/८२–२०८५/८६ अहिले कार्यान्वयनको अवस्थामा छ । यस योजनामा समष्टिगत दृष्टिकोण अपनाएर विकासका विभिन्न क्षेत्रबिचको समन्वय र सम्बन्धलाई प्राथमिकता दिइएको छ । १४ वटा विषयगत क्षेत्रहरू पहिचान गरी तिनको बिचको सहकार्य र सम्भावित द्वन्द्वलाई सम्बोधन गर्ने प्रयास गरिएको छ । यसले नीति निर्माणलाई प्रभावकारी बनाउन र स्रोतको अधिकतम उपयोग सुनिश्चित गर्न लक्ष्य राखेको छ ।

१६ औं योजनाको प्रमुख विशेषता भनेको “थीमेटिक एप्रोच“ हो । जसले क्षेत्रीय योजना र विषयगत प्राथमिकताबिचको अन्तरसम्बन्धलाई स्पष्ट रूपमा चित्रित गर्ने प्रयास गर्छ । तर, चुनौती भनेको क्षेत्रीय मन्त्रालय र विषयगत प्राथमिकता बिचको समन्वय सुनिश्चित गर्नु हो । कार्यान्वयनको क्रममा यस्ता योजना प्रायः संस्थागत कमजोरी, राजनीतिक अस्थिरता र स्रोतहरूको दूरुपयोगको शिकार हुन्छन् ।

नेपालका विकास योजनाहरूमा दीर्घकालीन सोच र रणनीतिहरू समेटिने भए पनि तिनको कार्यान्वयनमा निरन्तरता र प्रभावकारिता अभाव देखिन्छ । धेरैजसो योजना महत्त्वाकाङ्क्षी लक्ष्यहरू तोकेर मात्र सीमित हुने गरेका छन् । योजना निर्माणका क्रममा तथ्याङ्कको कमी, स्थानीय तहको समावेशीकरणको अभाव, र कार्यान्वयन प्रक्रियामा देखा पर्ने संरचनात्मक समस्या समाधान गर्नेतर्फ कम ध्यान दिइएको छ ।

१६ औं योजनाले विषयगत क्षेत्रबिचको समन्वय र स्रोतको प्रभावकारी प्रयोगको महत्त्वलाई आत्मसात् गरे पनि यसलाई सफल बनाउन सङ्घीयता, संस्थागत क्षमता, र सुशासनलाई प्राथमिकता दिनु जरुरी छ । योजना मात्र पर्याप्त छैन, त्यसको प्रभावकारी कार्यान्वयन र दिगो प्रभाव सुनिश्चित गर्नु साँचो विकास हो ।

निष्कर्ष

योजनाका सफलताले नेपाललाई समाजवाद उन्मुख दिगो विकासको मार्गमा अघि बढाउन मद्दत गर्नेछ । नेपालको विकास योजनाले देशलाई आर्थिक विकास र सामाजिक रूपान्तरणको मार्गमा अघि बढाउने उद्देश्य लिएका छन् । १५ औं र १६ औं योजना दुवैका लक्ष्य महत्त्वाकाङ्क्षी र देशको आवश्यकताअनुरूप भए पनि तिनको सफलता कार्यान्वयन प्रक्रियामा निर्भर छ । त्यसैले, योजना निर्माण मात्र होइन, तिनको प्रभावकारी कार्यान्वयन र त्यसको अनुगमनलाई विशेष ध्यान दिनुपर्छ । 

(लेखक राष्ट्रिय योजना आयोगको सदस्य हुनुहुन्छ ।)