• १७ माघ २०८१, बिहिबार

मिलेरेप्पा गुफा पुग्न मोटरेबल पुल

blog

यदुप्रसाद भट्ट

मनाङ, माघ १२ गते । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५, भ्राकामा रहेको मस्याङ्दी नदीमाथि मोटरेबल पुल बन्ने भएको छ । सहरी विकास मन्त्रालयले मोटरेबल पुल निर्माणका लागि १४ करोड ४९ लाख ४६ हजार रुपियाँ बजेट विनियोजन गरेसँगै पुल निर्माण प्रक्रिया अघि बढ्ने सुनिश्चित भएको हो ।

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने धार्मिक एवं पर्यटकीय स्थल मिलेरेप्पा गुफासम्म जाने सडक खण्डअन्तर्गत भ्राका नजिकै रहेको मर्स्याङ्दी नदीमाथि मोटरेबल पुल निर्माण गरिने भएको हो । 

मनाङका सांसद टेकबहादुर गुरुङको समन्वयमा ङिस्याङ–५ को मुङ्जेबाट मिलेरेप्पा गुफासम्म जाने ५ मिटर चौडाइ र करिब २ हजार ८ सय मिटर लम्बाइको मोटरबाटोको ट्याक खोलिएको मनाङ पर्यटन व्यावसायी समितिका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो । उहाँले ट्र्याक खोल्ने काम सम्पन्न भएपछि आवागमन सहज बनाउने उद्देश्यले मर्स्याङ्दी नदीमाथि मोटरेबल पुल आवश्यक रहेको भन्दै उक्त स्थानमा ५० मिटर लम्बाइ र ७ मिटर चौडाइको पुल निर्माणका लागि डिजाइन गरिएको जानकारी दिनुभयो । 

यस वर्ष पनि सांसद गुरुङकै विशेष पहलमा मुङ्जेबाट मिलेरेप्पा गुफासम्म जाने मोटरबाटोलाई जोड्ने मोटरेबल पुल निर्माणका लागि सहरी विकास मन्त्रालयले बहुवर्षीय योजनामा समावेश गरी १४ करोड ४९ लाख ४६ हजार रुपियाँ बराबरको कार्ययोजनामा समावेश गरी बजेट विनियोजन गरेको छ । 

जसअन्तर्गत यस आर्थिक वर्ष २०८१–०८२ का लागि २ करोड ५० लाख, आर्थिक वर्ष २०८२–०८३ का लागि ७ करोड २४ लाख ७३ हजार र आर्थिक वर्ष २०८३–०८४ का लागि ४ करोड ७४ लाख ७३ हजार बजेट विनियोजन गरेको छ ।

विनियोजित बजेटअन्तर्गत सहरी विकास मन्त्रालयले पहिले तयार गरेको नक्सालाई परिमार्जजन गरी पुल निर्माण गर्ने तयारी गरेको छ । आगामी तीन वर्षभित्र पुल निर्माण कार्य सम्पन्न हुनेछ । यहाँ मोटरेबल पुल निर्माण भएपछि मिलेरेप्पा गुफासहित अन्य धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसार हुनुका साथै पर्यटन प्रवर्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ ।