हुम्ला समाचारदाता
हुम्ला, माघ १२ गते । सिमकोट गाउँपालिकाको खार्पुदेखि चुवाखोलासम्मको पर्यटकीय सडकमा अवस्थित भित्तरगौडाको कडा चट्टानी भिर छिचोलिएको छ । चट्टानी भिरमा विस्फोट गर्ने र एक्साभेटरले सडक निर्माण गर्ने कामपछि भिर छिचोलेर यातायातका साधनसमेत गुड्न सुरु भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीले एक वर्षको अथक् प्रयास भए पनि खार्पुदेखि चुवाखोलासम्मको पर्यटकीय सडकको भित्तरगौडाको चट्टानी भिर छिचोलिएको हुँदा सडक सञ्चालनमा आएको बताउनुभयो । उक्त खण्डको अगाडि र पछाडि सडक निर्माण कार्य पूरा भए पनि भित्तरगौडाको १४७ मिटर कडा चट्टानी भिर बाँकी रहेको थियो । उक्त भिर विस्फोट गर्ने र मेसिनले निर्माण गर्ने कार्य गरेर सडक निर्माण गर्न सफल भएको उहाँको भनाइ छ ।
भिर छिचोलिएसँगै अब यातायातका साधन खार्पुबाट सिमकोट गाउँपालिका–१ को दोजाम गाउँसम्म सञ्चालन हुन थालेका छन् । यसअघि सो खण्डको सडक नछिचोलिएका कारण सिमकोटबाट दोजाम जान बुराउँसे, बरगाउँ र ठेहे भएर यातायातका साधन जानुपर्ने अवस्था थियो । भिरलाई चारदेखि छ मिटर सडक चौडा पारिएको छ भने ३० देखि ५० मिटरमाथिबाट चट्टान काट्ने काम गरिएको छ । सडक निर्माणको जिम्मा स्वच्छन्द निर्माण सेवा भए पनि स्थानीयस्तरमा दावा निर्माण सेवाले काम गरेको स्थानीय प्रतिनिधि कुलबहादुर लामाले बताउनुभयो । निकै कठिनाइबिच चट्टानी भिर छिचोलेर सडक निर्माण गरिएको बताउँदै उहाँले निर्धारित समयमा काम पूरा भएको जिकिर गर्नुभयो ।
खार्पु ग्याग्रु सडक निर्माणका लागि आर्थिक वर्ष २०७५/७६ मा चार करोड बजेटमा ठेक्का लागेर गत वर्ष निर्माण कार्य सम्पन्न भएको थियो । निकै कडा चट्टान भएका कारण सडक निर्माणका लागि ५० लाख रुपियाँ बजेट कार्यालयले थपेर थप कामका लागि सोही निर्माण कम्पनीलाई जिम्मेवारी दिइएको थियो । सो सडकको अब दोजाम गाउँबाट चुवाखोलासम्म सडक निर्माण जारी रहेको छ ।