• ८ वैशाख २०८२, सोमबार

मानसिक अस्पताल खोल्ने तयारी

blog

लेखनाथ समाचारदाता 

लेखनाथ, माघ १२ गते । गण्डकी प्रदेश सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत मानसिक रोग अस्पताल खोल्ने तयारी थालेको छ । प्रदेशमै मानसिक रोगको उपचार सुलभ र सरल तवरले उपलब्ध गराउन अस्पताल खोल्न लागिएको हो । 

‘मानसिक स्वास्थ्य प्रवर्धन केन्द्र’ नाममा उपचारसहित मानसिक समस्याबारे परामर्श र यसबारे सचेतना जगाउने खालका कार्यक्रमसमेत एकीकृत रूपमा चलाउने तयारी छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जिल्ला समन्वय समिति कास्कीको पोखरा–८, सिर्जनाचोकको जग्गामा अस्पताल स्थापना गर्नु उचित हुने बताउनुभयो ।

सिर्जनाचोकमा जिल्ला समन्वय समिति (जिसस) कास्कीको करिब तीन रोपनी जग्गा छ । विश्व बैङ्क, विश्व स्वास्थ्य सङ्गठन जस्ता अन्तर्राष्ट्रिय सङ्घ संस्था र सङ्घीय सरकारसँग सहकार्य गरी लगानी जुटाउने योजना छ । मन्त्री पाठक भन्नुहुन्छ, “जग्गा जिससले दिने करिब सहमति छ । जिसससँग करिब आठ करोड पैसा पनि छ । सङ्घीय स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागसँग यसबारे कुरा भइसकेको छ । प्रदेश सरकार यथाशीघ्र निर्णय गरी अघि बढ्छ ।” स्वास्थ्यमन्त्री पाठकले प्रदेशमा मानसिक स्वास्थ्य समस्या दिनप्रतिदिन बढ्दै गएकाले सुविधायुक्त अस्पताल अपरिहार्य भएकोमा जोड दिनुभयो । उहाँ भन्नुहुन्छ, “गण्डकीमा मानसिक स्वास्थ्य समस्याकै कारण दैनिक औसत दुई जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । रोगको निदान, परामर्श, उपचारका लागि अस्पताल जरुरी छ ।” 

जिसस कास्की प्रमुख लीलाधर पौडेल मानसिक स्वास्थ्य प्रवर्धन केन्द्र समग्र मानसिक स्वास्थ्य प्रवर्धन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुहुन्छ । जिससले गत वर्ष मानसिक अस्पताल निर्माण योजना पारित गरेको जानकारी दिँदै उहाँ अस्पताल सञ्चालनबारे छलफल जरुरी भएको औँल्याउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीसँग जग्गा छ, बिउपुँजी पनि छ । सञ्चालनको मोडालिटीमा पनि सहमति हुनु पर्छ ।” मानसिक रोग विशेषज्ञ डा. निर्मल लामिछाने मानसिक रोगको विशिष्टीकृत अस्पताल स्थापना हुनु राम्रो कुरा भए पनि यसअघि आवश्यक अध्ययन र योजना निर्माण हुनुपर्ने विचार राख्नुहुन्छ ।