अमरराज नहर्की
तनहुँ, माघ ११ गते । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पूर्वीखण्डको कामले गति लिएकाे छ । ७६ प्रतिशत काम पूरा भएको सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार कालोपत्रे गर्ने काम तदारुकताका साथ भइरहेको ७१.१ किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भएको छ । चार लेनको ३४–३४ गरी ६८ किलो किलो मिटर, दुई लेनको तीन किलोमिटर गरी ७१ किलोमिटर कालोपत्र भइसकेकाे छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्र गतिमा अगाडि बढेको छ । कालोपत्र गरिएको ७१ किलोमिटरमध्ये ३५ किलोमिटर सडकमा डबल लेयर (अन्तिम कालोपत्र) सकिएको छ ।
बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ । यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त्यही ठाउँमा थप चार सेन्टिमिटर थप्ने कार्य धमाधम गरिएको छ । पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ, अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ । पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि कालोपत्रको कामलाई अगाडि बढाइएको छ ।
दमौली बजारमा समेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम भइरहेको छ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् ।
व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ६० प्रतिशत पूरा भएको पाण्डेले बताउनुभयो । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।