नेत्र शाही
जुम्ला, माघ ११ गते । कुनैबेला विद्युतको अभावमा अध्याँरो खेपिरहेको जुम्लाको सदरमुकाम जुम्ला अहिले उज्यालिएको छ । यहाँको पातारासी गाउँपालिकास्थित चुकेनी खोलाबाट स्थानीय स्तरको ९९८ (एक मेघावाटको) किलोबाटको विद्युतले उज्यालो मात्रै होइन जुम्ला सदरमुकाममा सहज भएको छ ।
यस पातारासी गाउँपालिका-१ मा निर्मित उक्त चुकेनी खोलाले जुम्ला सदरमुकामसहित जिल्लाका सहायक बजारहरुमा समेत चुकेनीको विद्युत पुग्न थालेको छ । चुकेनीको विद्युत वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र एशियाली विकास बैंकको आर्थिक सहयोग स्थानीय जनता, गाउँपालिकाको स्वलगानी, कृषि विकास वैकको ऋण लगानी तथा संयुतm राष्ट्र संघिय विकास कार्यक्रम अन्र्तगतको ग्रामिण जिविकोपार्जनका लागी नविकरणीय उर्जा कार्यक्रमको प्राविधिक सहयोगमा सम्पन्न भएपछि पातारासीका लासी, तल्फि, चौर, उर्थु सहित जुम्ला खलङ्गा क्षेत्रका घरधुरीले गुणस्तरको विद्युत सेवा पाएका छन् । यो विद्युतमा पातारासी गाउँपालिकाका ३३ सय नागरिकको सेयर लगानी छ ।
अहिले जुम्ला बजार झिलिमिली भएपछि गुणस्तरको विद्युत सेवा २४ घण्टानै पाएकाले यहाँका बासिन्दाहरु खुसी भएका छन् । उहाँहरुको विद्युतको प्रयोग क्षमता पनि बढ्दै गएको छ । जुम्लाको कठ्याङ्ग्रिदो चिसोमा सरकारी कार्यालय तथा स्थानीयको घरमा ईलेक्ट्रोनिक सामाग्रहरुले पानी तताउने, हिटरले न्यानो गर्ने काम बढिरहेको छ ।
सो विद्युतमा लगानी गर्ने मध्यको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र ग्रामिण जिविकोपार्जनका लागी नविकरणीय उर्जा कार्यक्रमका कलष्टर संयोजक पृथ्वीबहादुर शाहीका अनुसार चुकेनीको विद्युतले अहिले जुम्लामा गुणस्तर बत्ति प्रवाह भएको जानकारी दिनुभयो । उहाँका अनुसार चुकेनीखोला विद्युत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको उक्त विद्युत आयोजनाको २०८१ साल बैशाख १८ गते नेपाल विद्युत प्राधिकरण सँगको सम्झौतापछि जुम्ला बजार क्षेत्रमा १८० किलोवाटबाट विद्युत सेवा प्रवाह सुरु गरिएको थियो ।
हाल विद्युत सेवा बढ्दै गएर बजार सहित यस क्षेत्रका विद्यालय, स्वास्थ्यचौकी, होटल व्यवसायहरु, स—साना उद्योग व्यवसायहरुका स्टोवरमा भएका विद्युतिय सामग्रीहरु पनि सञ्चालनमा आएका पाइन्छ । उहाँका अनुसार यसैगरी नयाँ उद्योग तथा व्यवसायहरु समेत सञ्चालन गर्न अहिले सजिलो भएको छ ।
चन्दननाथ नगरपालिका ६ मा रहेको कुलदेव फर्निचरका सञ्चालक हरि बहादुर वि.क का अनुसार दिनभरि डिजेल प्रयोग गरी काम गर्दा ग्राहकलाई केहि महङ्गो पर्दथ्यो । अहिले दर रेटमासमेत आफूले केहि हेरफेर गरेको समेत बताउँछन् । चन्दननाथ नगरपालिका २ स्थित सन्देस एण्ड पाउरोटी उद्योग मालिक रविना बुढा मगर भन्नुहुन्छ । पहिला विद्युत मासिक १२ हजारको डिजेल लाग्थ्थो अहिले ४ हजार मात्र महशुल तिर्ने गरेको बताउनुभयो ।
वैकल्पिक उर्जा केन्द्रका संयोजक शाहीले हाल चुकेनी खोलाको खपत हाल पिक समयमा नौ सय किलोवाट सम्मको माग समेत रहेको छ । उहाँका अनुसार पातारासी क्षेत्रमा डिल्लीचौर र डोल्काटीमा लिप्ट सिँचाई समेत सञ्चालन भईरहेको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष शाहका अनुसार जुम्लामा चुकेनीको विद्युतले गुणस्तर विद्युत नागरिकलाई दिन ठूलो सहयोग गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जुम्लामा वितरण केन्द्रबाट सात हजार पाँच सय रहेको छ । चुकेनीको विद्युतले जुम्ला सदरमुकाम सहित अन्य क्षेत्रमा पनि उज्लालो बनाएको बताउनुभयो । यस जुम्ला जिल्लामा रहेको कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत २४ घण्टा बिद्युत सेवा प्रर्वाह गर्दा यस प्रतिष्ठान भित्रका बिभिन्न विद्युतिय सामाग्रीहरु सञ्चालनमा आएका छन् ।
आम्दानीतिर चुकेनी विद्युत
निरन्तर बत्ति प्रवाह भएपछि अहिले चुकेनीखोला विद्युत सहकारी फाइदातिर गएको चुकेनी संहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाले चुकेनी जलविद्युतले जुम्लाको उज्यालो भविष्य उज्यालो गर्ने सपना भएकोमा जोड दिनुभयो । उहाँले पुस महिनामा मात्र रु २७ लाख सात हजार सात सय ७३ रुपियाँ ६० पैसा आम्दानी भएको जानकारी दिनुभयो । उहाँका अनुसार यही गति अनुसार बैंकको ऋण तथा जनताको लगानी फिर्ता गर्न सकिने उहाँ बताउनुहुन्छ । तर बिचमा समस्या भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको रु २८ करोड ४४ लाख ३० हजार, स्थानीय नागरिकको सेयर लगानी रु ३ करोड ४५ लाख, पातारासी गाउँपालिकाको रु एक करोड, प्रदेश सरकारको रु एक करोड रहेको छ । यसैगरी सहकारीले विद्युत निर्माण गर्न कृषि विकास बैंकबाट रु ६ करोड ऋण लगानी, नेपाल सरकारको भुअ कर रु ५ करोड १३ लाख ५२ हजार नौसय ९६ गरि रु ४५ करोड २८ लाख २ हजार नौसय ९६ रुपैया लागतमा भुअ करमा नेपाल सरकारले छुट गरेको छ ।
जुम्ला जिल्लाको सदरमुखाम खलङ्गा बजार अर्थात् चन्दननाथ नगरपालिकामा करिव ३० हजार मानिसहरुको बसोवास गर्ने स्थान हो । यस क्षेत्रमा वि.सं २०३८ सालमा तत्कालिन राजा विरेन्द्र बिरबिक्रम शाहका पालामा यस क्षेत्रका वासिन्दाहरुको उज्यालो जुम्लाको लागी २०० कि.वा घुघुत्ति लघु जलबिद्युत आयोजना.निर्माण गरी उपभोक्ताहरु मार्फत सन्चालनमा आएको थियो ।
उक्त क्षेत्रको बढदे जनसंख्याका कारण विस्तारै आयोजनाको बिद्युत अपुग भएकाले नेपाल बिद्युत प्राधिकरण वितरण शाखा जुम्लालाई मिति २०७६ सालमा हस्तातरण गरिएको थियो । नेपाल बिद्युत प्राधिकरणलाई पनि बिद्युत सेवा विस्तारमा कठिनाई भएपश्चात सुर्खेत जुम्ला ११ हजार लाइन विस्तार गरेपनि तर उक्त लाईनमा समेत भोल्टेज राम्रो नहुँदा उक्त क्षेत्रको बिद्युत सेवा अपुरै रहेको थियो । अहिले चुकेनी आउँदा प्राधिकरणले जुम्लाका सवै क्षेत्रमा विद्युत पुर्याएकाे छ ।