• १० माघ २०८१, बिहिबार

'पुरातात्त्विक महत्त्व बोकेको क्षेत्र संरक्षण गर्नुपर्छ'

blog

२६२ औं ऐतिहासिक मकवानपुरगढीको विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, माघ १० गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पुरातात्त्विक महत्त्व बोकेको पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । बिहीबार २६२ औँ विजय उत्सव कार्यक्रमलाई मकवानपुरगढीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

पर्यटन प्रवर्द्धन गर्नका लागि इतिहासलाई सम्झनुपर्नेमा जोड दिँदै उहाँले इतिहासका चिजहरूलाई कसरी बनाउने र प्रवर्धन गर्ने भन्ने विषयमा लाग्नुपर्ने बताउनुभयो । मकवानपुरगढीमा इतिहासबारे जानकारी दिने र आएका पर्यटकलाई भुल्याउने प्रकृतिका काम गर्न जरुरी रहेको उहाँको धारणा छ । 

इतिहास र महत्त्व बोकेको मकवानपुरगढीलाई पर्यटकीय रूपमा विकास गर्दै लैजान सुझाव दिँदै बहुवर्षिय रूपमा यहाँको विकास गर्न प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । गुरु योजना बनाएर काम गर्न आग्रह गर्दै आफू अर्थ मन्त्रालयमा हुँदा पनि यहाँको विकासका लागि सहयोग गरेको बताउनुभयो । 

कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन(नेपाली), २ नं. वडाध्यक्ष बखान सिंह पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, खोज तथा अनुसन्धानकर्ता, नेपाली सेना लगायतकाको सहभागिता रहेको थियो । 

मकवानपुरगढी राज्यमाथि आक्रमण गर्न आएका मुगल सेनालाई पराजित गरेको दिनका रूपमा विजय उत्सव मनाइएको हो । गाउँपालिकाको २ नम्बर वडाको आयोजनामा विजय उत्सव मनाइएको हो । पृथ्वीनारायण शाहको गोर्खाली सैनिकले मुगल सेनालाई पराजित गरेको दिनलाई मकवानपुरगढीमा हरेक वर्ष विजय उत्सव मनाउँदै आइरहेको छ । विगतमा विजय उत्सव मनाउने गरिएको थिएन । गाउँपालिकामा जनप्रतिनिधि आएपछि विजय उत्सवलाई भव्यरूपमा मनाउन लागिएको हो ।

मकवानपुरगढीमा मुगल सेनालाई आक्रमणका लागि ल्याउने गढीकै तत्कालीन सेन वंशीय राजा दिग्बन्धन सेन रहेको इतिहासमा उल्लेख छ । आफ्ना जेठानसमेत रहेका दिग्बन्धनलाई पृथ्वीनारायण शाहले यहाँबाट भगाएपछि उनी मुगल सेना लिएर पुनः गढी प्राप्तिका लागि लड्न आएका थिए । मिर कासिमसँग वार्ता मिलेपछि युद्ध गर्न बङ्गाली सेनाको फौज सहित दिग्बन्दन सेन मकवानपुरगढीतर्फ आएको इतिहासमा पाइन्छ । राजा दिग्बन्धन सेन चुरियासम्म आएर पछि हटेका थिए ।

चुरिया डाँडा काटेर १८१९ पुस २७ गते मीर कासिमको फौजले हर्नामाडीचौकी आक्रमण गरेको थियो । आक्रमणमा करिब ३ हजार फौजी खटाइएको थियो । यसरी आक्रमण गर्न आएको कुरा दहचोकगढीमा बसेका राजा पृथ्वीनारायण शाहलाई रातारात खबर पुग्यो । त्यसबखत पृथ्वीनारायण शाह कटेरी गैरीगाउँबाट मकवानपुरगढी चढ्नका लागि सजिलो बाटो बनाई रहेको इतिहासमा उल्लेख गरिएको छ । 

गोर्खाली सेनाहरू गएर मिर कासिमको फौजमाथि ढुङ्गामुढा बर्साएको र कोही क्याम्पमै र कोही भारी बोकेर गढीतर्फ आइरहेको देखेर गोर्खालीका सेनापति नहर सिंह बस्न्यात, केहलरसिंह बस्न्यात, वंशराज पाँडे, जीव शाह, हर्क पन्त, रामकृष्ण कुँवरको नेतृत्वमा गोर्खालीहरूले शिखरकटेरीमाथिबाट ढुङ्गामुढा बर्साएको पाइन्छ ।

वि.सं १८१९ माघ १० गते भएको अन्तिम लडाईमा मिर कासिमका नायव सेनाको हार भयो । यस युद्धमा मीरकासिमका १७०० जवान र गोर्खालीका ३० जना सेनाको मृत्यु भएको थियो । युद्धबाट गोर्खालीलाई ५०० सय बन्दुक, २ तोप, बारुद, गोला लाभ भएको थियो । गोर्खालीहरूले विदेशी सैनिकमाथि विजय प्राप्त गरेकोले मनोबल उच्च भएको थियो । मुगललाई गोर्खालीहरूबाट पराजित गरेपश्चात् राजा पृथ्वीनारायण शाहबाट मकवानपुरगढीमा पहिलो विजय उत्सव मनाइएको थियो । सोही दिनमा ऐतिहासिक दिनको सम्झनामा माघ १० गते विजय उत्सव मनाउने गरिन्छ ।